आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एकसाता बाँकी छ । निर्वाचन कार्यतालिका अनुसार समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय पाउनेछन् ।
एकसाता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो ।
तोकिएको समयमा एक सय दलले निवेदन दिएका छन् । बन्दसूची पेस गर्दा समानुपातिकमा समावेशी कोटा अनुसार बुझाउनुपर्ने हुन्छ । यसअघि २०७९ को चुनावमा २०६८ सालको जनगणनाअनुसार नै समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको थियो । यसपटक भने २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन नै संशोधन गरेको छ ।
राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेशअनुसार अब २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा बमोजिम राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने हुन्छ । प्रतिनिधिसभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ ।
११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची बुझाउँदा समानुपातिकमा समावेशी कोटाअनुसार बुझाउनुपर्ने हुन्छ । निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमै उम्मेदवारी दिँदा खसआर्य ३३, आदिवासी जनजाति–३२, मधेसी–१८, दलित–१५, थारू सात मुस्लिम समुदायबाट पाँच जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ ।
समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ । प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूचीउपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २ गते बन्दसूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
आयोगको अनुमतिबिना सवारीसाधन प्रयोग गर्न नपाइने
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिईकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको हो ।
अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिने छ ।
सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ । विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न नपाइने र कुनै पनि अनुमति नदिइने प्रस्तावित आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले प्रक्रिया पूरा गरी सोही बमोजिमको संख्या र प्रकारका सवारीसाधन प्रयोग गर्न सक्नेछन् । सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन बर्जित गरिएको छ । अनुमति प्राप्त गरेको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पाउने छैनन् ।
प्रस्तावित आचारसंहिता अनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन् । हिँड्डुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, किरियापुत्री, शारीरिक रूपले अशक्तता वा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक जस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा भने सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ ।
प्रहरी र सशस्त्रका छुट्टाछुट्टै ‘निर्वाचन प्रहरी’
आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन लागि प्रहरी र सशस्त्रका डेढ लाख नियुक्तिको तयारी गरिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरी बलले छुट्टै ‘निर्वाचन प्रहरी बल’मा भर्ना लिने भएको हो । यसअघि हरेक निर्वाचनमा प्रहरीले मात्रै निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएको थियो । यसपटक म्यादी प्रहरीको साटो ‘निर्वाचन सुरक्षा प्रहरी’ शीर्षकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले छुट्टाछुटै भर्ना लिन लागेका हुन् ।
प्रहरीले एक लाख ३० हजार हाराहारी भर्ना लिन लागेको छ भने सशस्त्र प्रहरी बलले छुट्टै १५ हजारभन्दा बढीको संख्यामा भर्ना गर्न लागेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार दुवै संगठनका तर्फबाट करिब एक लाख ४५ हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मी थपिनेछन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी मनीष थापाले सशस्त्रले निर्वाचनलाई लक्षित गर्दै १५ हजारभन्दा बढी भर्ना गर्न लागिएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुनेछन् । निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र ‘निर्वाचन प्रहरी’ अनि अन्तिम घेरामा नेपाली सेनाको टोली रहनेछ । सेना, प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचनलक्षित गस्ती थालिसकेका छन् ।
देशभर १० हजार ९६७ मतदान स्थल
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । यसअघिको निर्वाचनमा १० हजार ८९२ मतदान स्थल रहेका थिए । तर, निर्वाचन आयोगले यसपटक सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको हो । यस्तै, ९३ वटा प्रयोगमा नरहेका र समायोजित भएका मतदानस्थल भने खारेज गरिएको छ ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । मतदातालाई साबिककै अर्को मतदान स्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
सोही अनुसार केन्द्रले मतपत्र छपाइका लागि चार वटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्तिसमेत तयारी अवस्थामा राखिसकेको छ । साथै मतपत्र छपाइका लागि आवश्यक कागज, मसीलगायत मेसिनका लागि चाहिने अन्य पार्टपुर्जाको पनि केन्द्रले जोहो गरिसकेको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार मतपत्र छाप्ने विषयमा आइतबार पनि निर्वाचन आयोगसँग छलफल भएको थियो ।
पौडेलका अनुसार आयोगले निर्देशन दिनेबित्तिकै छपाइको काम सुरु हुने छ । केन्द्रले अहिलेको जनशक्ति, छपाइ मेसिन र वार्षिक कार्ययोजनालाई असर नपर्ने गरी काम गर्न कम्तीमा पनि पुस १६ गतेबाट छपाइको कार्य सुरु गर्ने गरी कार्ययोजना बनाउन आयोगलाई अनुरोध गरेको छ । केही दिनअगाडिकै समय राखेर काम गर्दा छपाइ मेसिनमा अकस्मात् कुनै समस्या आइहालेमा पनि मर्मत गरेर काम गर्न सहज होस् भन्ने चाहना केन्द्रको छ ।
आयोगले पनि औपचारिक निर्णय नगरे पनि यही मितिको आसपासबाट मतपत्र छाप्ने विषयमा सकारात्मक देखिएको पौडेलले बताउनुभयो । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगमा ९३ वटा दलले संयुक्त र एक्लाएक्लै निवेदन दिएका छन् । विगतका निर्वाचनलाई हेर्दा प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आकलन केन्द्र र आयोगले गरेका छन् । यसरी हिसाब गर्दा समानुपातिकका लागि डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र छाप्नुपर्ने हुन्छ ।
केन्द्रका प्रबन्ध सञ्चालक पौडेलका अनुसार समानुपातिकको मतपत्र छपाइका लागि २९ दिनको कार्यतालिका बनाइसकिएको र निर्वाचन आयोगको औपचारिक पत्र आउनसाथ काम सुरु गरिने छ । समानुपातिकको मतपत्र छापिसक्दा प्रत्यक्षतर्फको पनि छाप्ने बेला हुने र सोही अनुसार गर्ने योजना बनाइएको छ । जनक शिक्षाले निर्वाचनको मतपत्रसहित मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायतका आवश्यक सामग्री छपाइका लागि पनि तयारी गरेको छ ।
मतपत्र छपाइका लागि करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान जनक शिक्षाको छ । यसअघि पनि जनक शिक्षाले स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तथा प्रत्यक्ष निर्वाचनलगायत निर्वाचनका सबै मतपत्र छपाइ गर्दै आएको छ । पछिल्लो समय जनक शिक्षाले नेपाल टेलिकमको पाँच करोड थान रिचार्ज कार्ड छपाइको कार्य पनि गरिरहेको छ । जसमध्ये चार करोड थान छपाइ कार्य सकिएको छ ।
पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा
मतपत्र छपाइ गर्नुपरे पनि विद्यालय तहको पाठ्यपुस्तक छपाइ कार्य भने प्रभावित नहुने जनक शिक्षाले स्पष्ट पारेको छ । सरकारले अघिल्लो वर्ष विद्यालय तहका कक्षा एक, दुई र चारबाहेकका पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको थियो । अहिले पनि सोही अनुसार पाठ्यपुस्तक छपाइको कार्य भइरहेको र एक करोड २० लाख थान छपाइसकिएको केन्द्रले जनाएको छ ।
बाँकी पुस्तक पनि मतपत्रसँगै छाप्ने केन्द्रको योजना छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भने, ‘जनक शिक्षाले मतपत्र छपाइलाई प्राथमिकता दिँदा विद्यालय तहको पाठ्यपुस्तक छपाइ प्रभावित होला कि भन्ने चिन्ता बजारमा देखिएको छ तर कुनै पनि हालमा प्रभावित नहुने गरी हामीले काम गरिरहेका छौँ ।’



















