काठमाडौं । ‘खालिस्तानी समूह’ का एक मुख्य अभियुक्त कश्मीर सिंह गलबड्डी, जसलाई बलवीर सिंहको नामले पनि चिनिन्छ, भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (एनआईए) ले नेपालबाट नियन्त्रणमा लिएको भारतीय मिडियाहरूले दाबी गरेका छन्। तर, नेपाल प्रहरीले भने यसबारे कुनै जानकारी नभएको स्पष्ट पारेको छ।
भारतको प्रतिष्ठित समाचार माध्यम द इण्डियन एक्सप्रेस लगायतका सञ्चारमाध्यमहरूले एनआईएको उद्धरण दिँदै गत शनिबार गलबड्डीलाई नेपालबाट पक्राउ गरिएको जनाएका छन्। तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार ती व्यक्तिको नेपाल आगमनदेखि लिएर पक्राउसम्बन्धी कुनै जानकारी प्रहरीसँग छैन।
प्रवक्ता थापाले भने, “न त उक्त व्यक्ति नेपाल आएको जानकारी छ, न त कसैले उनलाई यहाँबाट लगेको प्रमाण नै छ। नेपाल प्रहरीका विभिन्न युनिटहरूले देशभर शंकास्पद गतिविधिमा निगरानी राखिरहेको छ तर हालसम्म यस घटनाबारे हामी बेखबर छौं।”
भारतीय मिडियाका अनुसार बलवीर सिंह पञ्जाबस्थित नाभा जेलबाट अन्य दुई बन्दीसहित फरार भएका व्यक्ति हुन्। उनी ‘खालसा इन्टरनेशनल’ नामक आतंकवादी समूहसँग आवद्ध रहेको र नेपालका विभिन्न सहरमा कपडा व्यवसायको आवरणमा गतिविधि सञ्चालन गरिरहेको बताइएको छ।
साथै, सिंहले नेपालका ६ वटा बैंकमा खाता खोलेको र क्यानडाबाट आर्थिक कारोबार हुने गरेको दाबी गरिएको छ। ती आर्थिक कारोबारहरू भारतमा आतंकवादी गतिविधिका लागि प्रयोग भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारत सरकारले उनलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई एक लाख भारु पुरस्कारसमेत घोषणा गरेको थियो।
बलवीर सिंह पञ्जाब प्रहरीको इन्टेलिजेन्स मुख्यालयमा भएको आतंकवादी हमलाको मुख्य योजनाकार भएको आरोप पनि लगाइएको छ।
यद्यपि, नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (FIU) ले देशभरका बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबारहरूलाई नियमित रूपमा निगरानी गरिरहेको जनाइएको छ। हालै मात्रै उक्त इकाईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङसँग अन्तर्क्रिया गरेको थियो।
एआईजी खापुङले हालसम्म बलवीर सिंहसम्बन्धी कुनै गतिविधि वा घटनाबारे जानकारी नभएको स्पष्ट पारे। उनले भने, “विदेशी व्यक्तिले नेपालका ६ वटा बैंकमा खाता खोल्ने र विदेशी मुद्रामा कारोबार गर्ने कुरा सहज छैन। त्यस्तो भएको भए पहिल्यै पहिचान भइसक्थ्यो।”
तर उनले नेपाली नागरिकको प्रयोगमार्फत वा अन्य कुनै विधिबाट यस्ता गतिविधि भएका हुनसक्ने सम्भावनालाई अस्वीकार गरेनन्। “त्यस्तो केही भएको प्रमाणित भएमा गम्भीर अध्ययन गरिनेछ,” खापुङले थपे।