कचनकवल– नेपाली कांग्रेस कचनकवलले कोशी प्रदेशका नवनियुक्त भौतिक तथा पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई बधाई तथा शुभकामना अर्पण गर्दै एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। शनिबार कचनकवल ६ स्थित बनियानीमा पार्टीका पालिका अध्यक्ष तुलाराम अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सहसचिव कालेन्द्र प्रसाद सिंह राजवंशीले नवनियुक्त मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदै, उहाँको कार्यकालले स्थानीय जनताको हितमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
राज्यमन्त्री राजवंशीले आफ्नो सम्बोधनमा स्थानीय तहमा योजना कार्यान्वयनका लागि वडाबाट प्राप्त योजनाहरूलाई प्राथमिकतामा राखिने र सम्भव नभएका योजनाहरूलाई प्रदेश तथा केन्द्रसँग समन्वय गरी समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, कुनै पनि योजना निर्माण गर्दा सबैलाई समानरूपमा प्राथमिकता दिने र विभेद नगर्ने कुरामा उनले जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सिताराम खड्काले पनि मन्त्रीलाई बधाई दिँदै सामूहिक हितका योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टीका कार्यकर्ता र स्थानीयलगायतको उपस्थिति रहेको थियो।