काठमाडौं। नेपाली कांग्रेसले माघ १३ देखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ ।
नागरिकका सुझाव र गुनासो सुन्न नेपाली कांग्रेसले सो अभियान सञ्चालित गर्न लागेको हो । माघ २६ गतेसम्म चल्ने अभियानका लागि कांग्रेसले समुदाय स्तरसम्म केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । अभियानको क्रममा स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्न अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
बुधबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गरी जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिन तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन लिन सो अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ । ‘समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रूपमा लिने उद्देश्य अभियानको रहेको छ’ पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अभियानको लागि जिल्ला स्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नु भएको पौडेलले जानकारी दिनुभयो । केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधिहरू खटिनु हुने उहाँले बताउनुभयो । ‘केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनु हुनेछ, यो अभियान मूलतः वडा केन्द्रित रहनेछ, जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू रहने छैनन्’, पौडेलले भन्नुभयो ।
माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ हुने पौडेलले जानकारी दिनुभयो । उक्त दिन ६ हजार ७ सय ४३ वडामा मात्र कार्यक्रम हुनेछन् । सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नु पर्ने उहाँले बताउनुभयो । सो दिन सबै नेता कार्यकर्ता वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ पनि पार्टीले निर्णय गरेको छ ।
अभियानको यो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुने पौडेलले जानकारी दिनुभयो । मूल कार्यक्रम १६ गतेबाट सुरु हुने भए पनि १३ गतेबाट जिल्ला र वडास्तरसम्म विभिन्न तयारी हुने पौडेलले बताउनुभयो ।