काठमाडौं। बौद्ध धर्मावलम्बी नेवार समुदायको गुँलापर्व शुरु भएको छ। नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।
गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) मनाउने परम्पा छ। यो वर्ष शुक्रबार साउन ९ मा शुरु भएर भदौ ८ गते समापन हुनेछ।
यो पर्वमा एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिकस्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बसेको बताइएको छ।
यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, आदि खान नहुने विश्वास गरिन्छ।