काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण आइतबार दिनभर मौसम बदली रहने जलवायु पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली हुने अनुमान गरिएको छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि मौसम उस्तै रहनेछ। देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा वर्षा सम्भावित छ। ती क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने बताइएको छ।
महाशाखाका अनुसार हाल देशभर सक्रिय मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा वर्षा अझ केही दिन कायम रहने देखिन्छ।