पानी बोक्ने पिक अप गाडीले गाँजा ओसारपसार गरेको खुलेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकै ‘मिनिरल वाटर’ लोड गरिएको गाडीमा लुकाई छिपाइ राखिएको १४ पोका गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले मङ्गलवार बेलुका बागमती प्रदेश ०१-०२६च ४९२१ नम्बरको पिक अप गाडीमा लुकाएर राखेको २१० केजी गाँजा बरामद गरेको हो ।
गाँजा भेटिएपछि उक्त गाडी, सहचालक र अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीका अनुसार सहचालक धादिङ थाक्रे गाउँपालिका – ७ बस्ने वर्ष २३ को जिवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ बस्ने वर्ष २५ को सुरेन्द्र दासलाई नियन्त्रणमा लिइएको हो ।
प्रवक्ता गिरीले केटिएम दैनिकसँग भने, ‘मिनिरल वाटर लोड गरिएको गाडी थियो शङ्का लागेर चेक गर्दा १४ पोका गाँजा रहेछ ।’
नियन्त्रणमा लिइएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।