झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। जिल्लाका सबै वडाहरूमा पार्टी समिति विस्तार भइसकेको र नागरिकको मन जित्न सफल भएको दाबी रास्वपाका स्थानीय नेता तथा उम्मेदवार प्रकाश पाठकले गर्नुभएको छ।
जिल्ला समन्वय समिति झापाको परिसरमा बोल्दै पाठकले विगत साढे तीन दशकदेखि सत्ता सम्हालिरहेका मुख्य राजनीतिक दलहरूप्रति कडा आलोचना गर्नुभयो। उहाँले पुरानाले नसकेको र व्यवस्थापनमा चुकेको आरोप लगाउनुभयो। “नागरिकले पाउनुपर्ने विषयवस्तुहरूमा भएको अव्यवस्थाले अब यो स्थिति रहिरहन सक्दैन, परिवर्तन अपरिहार्य छ,” पाठकले भन्नुभयो।
युवा वर्गले राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै पाठकले रास्वपाको सरकार बनेको खण्डमा पुराना दलहरूले जस्तो दशकौँ कुराउने छैन, बरु डेढ-दुई वर्षमै नतिजाको झलक दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बालेन शाहसँगको प्रसंग र झापा क्षेत्र नं. ५
आफ्नो मन्तव्यका क्रममा बाह्रदशी-३ निवासी उम्मेदवार पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खुलेर प्रशंसा गर्नुभयो। बालेनले काठमाडौँमा बनाएको छाप देशभर विस्तार गर्ने नागरिकको चाहना रहेको उहाँले बताउनुभयो।
रोचक कुरा के छ भने, पाठकले बालेनलाई ‘पार्टीको वरिष्ठ नेता’ को संज्ञा दिँदै विगतमा बालेनले झापा क्षेत्र नम्बर ५ मा चुनाव लड्ने र ‘त्यो पात्र’ (शीर्ष नेतालाई इंगित गर्दै) लाई परास्त गर्ने इच्छा व्यक्त गरेको स्मरण गराउनुभयो। बालेनको सोही दृढतालाई आत्मसाथ गर्दै रास्वपाले झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी अघि बढाएको उहाँको भनाइ थियो। उहाँले झापाका मतदाताले विवेक गुमाउने छैनन् भन्ने विश्वास समेत व्यक्त गर्नुभयो।
अन्त्यमा, अबको पुस्ता छिटो परिवर्तनको पक्षमा रहेको र त्यसको लागि रास्वपा र बालेन शाह जस्ता पात्रहरूमा नागरिकले भरोसा खोजेको पाठकले जिकिर गर्नुभयो।



















