गएराति गण्डकी प्रदेशका धेरै स्थानहरूमा र लुम्बिनी, बागमती तथा कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको वर्षा प्रणालीका कारण आज पूर्वी भूभागहरूमा पनि वर्षा हुने सम्भावना छ।
महाशाखाले आइतबार बिहान साढे तीन बजे जारी गरेको बुलेटिनअनुसार आज गण्डकी, बागमती, कोसी र मधेस प्रदेशका केही भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। दिउँसो कोसीसहित देशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको उल्लेख छ।
त्यस्तै, देशका हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातसमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ, जसको असरले देशभर मौसममा परिवर्तन देखिएको हो।