कैलालीको टिकापुरमा आयोजना हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको स्थायित्व आफ्नै पार्टीको फाइदामा रहने बताएका छन्।
उनले भने, “अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हाम्रो स्पष्ट धारणा हो। सरकारले अहिलेसम्म गरेका क्रियाकलापबाट जनताले यसको वास्तविक उद्देश्य बुझ्दै गएका छन्। यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई त्यति नै फाइदा हुन्छ।”
सरकार परिवर्तनको खेलमा आफ्नो पार्टी नरहेको प्रचण्डको भनाइ छ। उनले तथाकथित दुई तिहाई बहुमतको दाबी गर्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै हाल प्रस्तुत भएका अध्यादेशहरू पारित हुने सम्भावना नरहेको बताए।
उनले भने, “केही अध्यादेश त पास नहुने दिशातिर गई नै सके, बाँकी पनि पारित हुने देखिन्न। भए पनि यसबाट जनतालाई कुनै फाइदा हुँदैन।”
प्रचण्डले पार्टीलाई समाजका सबै वर्ग, समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने र स्थानीय कला-संस्कृतिमार्फत पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने अभियान अघि बढाएको बताए।
उनका अनुसार, अभियानका क्रममा आएका जनगुनासो, अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न पार्टीले विभिन्न कार्यक्रममार्फत पहल गर्ने, सरकारले गर्नुपर्ने काममा ध्यानाकर्षण गराउने र राष्ट्रिय विषयहरूलाई संसदमा उठाउने योजनासहित अघि बढ्नेछ।