बनियानी। झापाको कचनकवल-६ स्थित प्रथम बहुउद्देश्यीय सहकारी संस्था, सेवा केन्द्र बनियानीको १३औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विष्णु खरेलको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि दिपक पाण्डेले सम्बोधनका क्रममा सहकारीमा सदस्यहरूले नारी बचत, खुत्रुके बचत तथा अन्य खाताहरूमा जम्मा गरेको रकम पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि हिनामिना नहुने दृढता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूले आफ्नो बचत जुनसुकै समयमा फिर्ता लिन चाहेमा संस्थाले तुरुन्त फिर्ता दिने व्यवस्था मिलाएको समेत जानकारी दिनुभयो।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस कचनकवलका सभापति तुलाराम अधिकारीले लेखा परीक्षण प्रतिवेदनमार्फत संस्थाको वास्तविक अवस्था आम सदस्यहरूलाई जानकारी गराउनु नै साधारण सभाको मुख्य लक्ष्य भएको बताउनुभयो। विगतमा साना समूहहरू बनाएर जीविकोपार्जन गरिएको स्मरण गर्दै उहाँले सदस्यहरूको थोपा-थोपा संकलनबाट बनेको पुँजी सुरक्षित राख्न सबैले सधैँ खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा अतिथिहरू जीवन ढुंगाना र कृष्ण घिमिरेले समेत संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो।
साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। जसमा उत्कृष्ट नारी बचततर्फ निकिता बास्कोटा, उत्कृष्ट खुत्रुके बचततर्फ गिरिसा दाहाल, उत्कृष्ट नियमित बचततर्फ डोगलाल राजवंशी र उत्कृष्ट कारोबारतर्फ सावित्री माझी सम्मानित हुनुभएको थियो। सांस्कृतिक नृत्यसहित उत्साहजनक रूपमा सञ्चालित उक्त सभामा अध्यक्ष विष्णु खरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदनलाई सभाले बहुमतले पारित गरेको छ। गोपाल धिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
















