प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा भइरहेका अन्धविश्वासका घटनाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेका छन्। मंगलबार मधेस प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको नाममा हुने विभेद, यातना र दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका हुन्।
व्यङ्गात्मक शैलीमा उनले भने, “यदि साँच्चै बोक्सी भन्ने कुरा हो भने, मलाई दुनियाँले सरापिरहने होइन, बरु मलाई नै बोक्सी लगाइदिनुस्। त्यसले राहत मिल्ला।”
उनले बोक्सीको नाममा हुने अत्याचारलाई अन्धविश्वासको चरम उदाहरण भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे। “क, ख पढेको छैन, अनि जादु लगायो, बोक्सी लगायो भनेर हुन्छ? यो अन्धविश्वासको हद हो, अब यो त्याग्नैपर्छ,” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले समाजमा व्याप्त अरू केही विकृतिप्रति पनि आक्रोश पोखे। दाइजो नपाएको भन्दै मण्डपबाट बेहुला भाग्ने, मोटरसाइकल नपाएको भन्दै बेहुली छोडेर जानेजस्ता घटनाले समाजलाई टुक्र्याउने भन्दै उनले भने, “दाइजो समाजको रोग हो, यसलाई अँगाल्ने होइन, अब पूर्णरूपमा त्याग्नुपर्छ।”
प्रधानमन्त्रीले समाजलाई समावेशी, समान र विवेकशील बनाउने प्रयासमा सबैले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।