बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–३ निवासी युवा गायक प्रशान्त पोखरेल अन्तर्राष्ट्रिय गायन रियालिटी शो मेरो भ्वइस युनिभर्स सिजन २ को उत्कृष्ट ७ मा प्रवेश गरेका छन्। गायनकला मार्फत देश–विदेशमा चर्चित बनेका पोखरेलको सफलताप्रति गाउँ कार्यपालिकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सार्वजनिक अपिल जारी गरेको छ।
गाउँपालिकाका अनुसार नेपालबाट अडिसन दिई प्रतियोगिताको उत्कृष्ट ७ मा स्थान बनाउने एकमात्र प्रतिस्पर्धी पोखरेलले बुद्धशान्ति मात्र होइन, झापा जिल्ला, कोशी प्रदेश तथा समग्र नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएका छन्।
गाउँपालिकाले प्रशान्तको आगामी यात्रामा साथ दिनका लागि सबै बुद्धशान्तिवासी, जनप्रतिनिधि, संघसंस्था, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, कलाकार तथा देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई भोट र आर्थिक सहयोगका माध्यमबाट साथ दिन अपिल गरेको छ।
भोट गर्ने तरिका
१. एसएमएस मार्फत भोट : मोबाइलको म्यासेज बक्समा गएर
MVU08 लेखी 37000 मा पठाउन सकिनेछ।
- मोबाइल एप प्रयोग गरेर भोट :
MY INTRA एप डाउनलोड गरी, Mero Voice Universe सेग्मेन्टमा गई Prashant Pokhrel मा क्लिक गरेर भोट गर्न सकिनेछ।
शुक्रबार राति १२:०० बजेदेखि सोमबार बेलुका ५:०० बजेसम्म मात्र भोट गर्न सकिने हुँदा तोकिएको समयभित्र भोट गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष भवानी प्रसाद खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रशान्त पोखरेलजस्ता प्रतिभाशाली युवाको सफलतामा हाम्रो सानो योगदानले ठूलो फरक पार्न सक्छ। आउनुहोस्, हामी सबै मिलेर उहाँलाई विजेता बनाऔं।”