बिर्तामोड – प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ।
नगर प्रमुख प्रसाईले आफ्ना श्रीमान् स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा सो रकम सहयोग गर्नुभएको हो। आज बिर्तामोडस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो।
उक्त रकम पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई हस्तान्तरण गरिएको छ।
यसअघि, प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले स्व. ज्ञानुराम प्रसाईको स्मृतिमा सहयोग रकम प्रदान गर्ने घोषणा गर्नुभएको थियो।