बिर्तामोड — प्रेस चौतारी नेपाल झापा शाखाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको औपचारिक थालनी गरेको छ। नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रका अनुभवी अग्रजहरूसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले सुरु गरिएको कार्यक्रमको पहिलो शृंखलामा वरिष्ठ पत्रकार तथा समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडाको अनुभव सुन्ने अवसर मिल्यो।
कार्यक्रमका प्रमुख अतिथि खतिवडा झापाको कञ्चनजंगा एफएमबाट प्रशारण हुने लोकप्रिय समवेदना कार्यक्रमका संस्थापक तथा १८ वर्षसम्मका सशक्त प्रस्तोता हुन्। उनले पत्रकारिता यात्रा, समवेदनाको सुरुवातदेखि हालसम्मको अनुभव, सामाजिक प्रभाव, र सूचनाको संवेदनशीलताको विषयमा आफ्ना धारणा राखे।
“जिवित व्यक्तिहरूको निधनको झूटा खबर प्रशारण भएर सामाजिक असर पारेका घटनाबाट मैले सत्य पुष्टि गर्न कत्तिको जरुरी हुन्छ भन्ने सिकें,” खतिवडाले सुनाए। पत्रकारिता, प्राध्यापन, र सामाजिक सम्बन्धका अनुभव साट्दै उनले पछिल्लो दुई वर्षदेखि समवेदना प्रशारण रोकिएकोमा दुःख व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रेस चौतारी झापा शाखाका अध्यक्ष प्रदीप परियारले तीन÷तीन महिनामा अग्रज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभव साट्ने कार्ययोजना अनुसार कार्यक्रमको शुभारम्भ भएको जानकारी दिए। “यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मार्गदर्शन दिने विश्वास लिएका छौं,” उनले भने।
पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले पुस्ताबीचको दूरी घटाउन ‘अग्रजलाई सुन्ने’ कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। “वरिष्ठ पत्रकारको जीवन संघर्ष र प्रेरणादायी यात्रा सुन्न पाउनु आफैंमा सिकाइको अवसर हो,” न्यौपानेले भने।
कार्यक्रममा खतिवडाले “पत्रकार महासंघको निर्वाचनबाहेक अन्य कार्यक्रममा बोलाइँदैन, आज पहिलोपटक प्रेस चौतारीको औपचारिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी लागेको छ,” भन्दै चौतारीद्वारा सुरु गरिएको यो पहलप्रति सकारात्मक प्रतिक्रिया दिए।