इलाम। चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि इलाममा पहिलो टिपाइ सुरु गरिएको हो । जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मुल्य उच्च हुन्छ ।
पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो त्यस पछिको बजारमा बिक्रि गर्न सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियो पत्ति भए पनि प्रशोधन गर्ने गरेका छन । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ ।
पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।
हिउँदमा खाली रहेका चिया किसानसमेत अब भने व्यस्त हुने भएका छन् । चिया चैतबाट टिपाइ सुरु भएर कात्तिकदेखि उत्पादन बन्द हुन्छ । चिसो मौसम सुरु भएसँगै चियाको उत्पादनसमेत बन्द हुने गरेको छ । कात्तिक र मङ्सिर महिनामा चियालाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा चियालाई गोडमेलसँगै गाई वस्तुको मल पनि लगाइने गरेको छ । चियाको टिपाइ करिब सात दिनको अन्तरमा हुने गरेको छ ।



















