पालिका सन्देश । गत मंसिरमा बुधबारेको एउटा हार्डवेयरमा आगलागी हुँदा नियन्त्रणमा लिन झन्डै ६ घण्टा लाग्यो । गाउँपालिकाको आफ्नै आगो निभाउने संयन्त्र नभएकाले अन्य पालिकासँग समन्वय गरेर दमकल आइपुग्दासम्म ठूलो क्षति हुन पुग्यो । जमुना सापकोटा कडरियाको हार्डवेयरमा भएको उक्त आगलागीबाट २ करोड बढी क्षति भएको विवरण छ ।
मंसिर महिनामै बुद्धशान्ति ४ का ७० बर्षीय जनविर माबोको घरमा लागेको आगोले उनको घर मात्रै सखाप पारेन झन्डै उनकै ज्यान लियो । फागुन २५ गते बुद्धशान्ति ३ का पुण्यप्रसाद न्यौपानेको गोठमा सल्किएको आगोले गोठमा रहेका काठपात र पराल जल्दा ५ लाख बढिको क्षति भयो । चालु आर्थिक वर्षमा मात्रै बुद्धशान्तिमा ८ वटा साना–ठूला आगलागी भएका छन् । फागुन महिनामा मात्रै ४ वटा आगलागीका घटनाबाट झन्डै ३० लाख बढी क्षति भएको प्रहरी रेकर्डमा देखिन्छ ।
झापामा आ.व.२०७९/०८० को फागुन २७ गते सम्मको आगलागी सम्बन्धी विवरणलाई हेर्दा अचानक आगोलागी संख्या १ सय ५ वटा भएका छन् । ग्याँस लिक भएर १० वटा, चट्याङबाट आगलागी १ वटा, विद्युत सर्ट भई आगलागी २० वटा भएका छन् । यसमा ४ जना मानिसले ज्यान गुमाउन पुगे । १५ जना घाइते भए भने १ सय ६९ पशुचौपाय मरेका छन् ।
यसरी पटक–पटक आगलागी हुँदा तत्कालै निभाउन सक्ने भरपर्दो उपायको व्यबस्था नगरिँदा बाक्लो बस्तिमा बसेका र बजार क्षेत्रका मानिसहरू सन्त्रासमा छन् । स्थानीय प्रशासनसँग अग्नि नियन्त्रणका लागि दुइवटा बाल्टी, गैती, बेल्चा र कोदाला मात्रै छन् । पालिका भित्र रहेका दुई सुरक्षा निकाय मध्ये ईलाका प्रहरी कार्यालय बुधबारेमा प्रहरीको संख्या पनि कम देखिन्छ । साँझको समयमा घर–झगडा, कुटपिट जस्ता मुद्दामा प्रहरी खटिएका हुन्छन् । आगलागीका घटना पनि प्रायः त्यस्तै समयमा देखिने हुँदा जनशक्तिको अभाव देखिन्छ ।
बिपत व्यबस्थापनमा खटिने शसस्त्र प्रहरी, टिमाई बेस क्याम्पसँग पनि पर्याप्त सामाग्री नहुँदा जोखिमपुर्ण तबरले अग्नि नियन्त्रणमा खटिनुपर्ने बाध्यता देखिन्छ । करिब ५३ हजार जनसंख्या रहेको यस पालिकामा वारुण यन्त्र नहुँदा अन्य पालिकाबाट बोलाउनुपर्ने बाध्यता छ । बोलाउँदा समेत दमकल आइपुग्न न्युनतम आधा घन्टा समय लाग्छ ।
झापामा ६ वटा पालिकासँग मात्र दमकल छन् । बुद्धशान्तिमा आगलागी हुँदा बिर्तामोड र मेचीनगर नगरपालिकाबाट सेवा पुर्याइरहेका छन् । त्यसमा पनि सम्पर्क, तालमेल र दमकल तयारी अवस्थामा नहुँदा कहिलेकाँही ढिला हुने गरेको देखिन्छ । एकातिर आगलागीको क्षति त छँदैछ, त्यसभन्दा पनि क्षति भोगेका परिवारहरू पुनः पुरानै अवस्थामा फर्कन कति समय लाग्छ भन्ने विषय अझ महत्वपूर्ण हुन्छ । आगलागीले घर मात्र खरानी पार्दैन, घरपरिवार र त्यसका प्रत्येक व्यक्तिको सपना, योजना र जीविकोपार्जनको रणनीति समेत समाप्त हुन्छ, जसलाई पुनः सामान्य अवस्थामा ल्याउन जीवनको लामो समय र प्रयास खर्चनुपर्छ । ‘भबितव्य बाजा बजाएर आउँदैन, त्यसैले सावधानी आफै अपनाउनुपर्छ’ भन्ने कुरा सबैले आत्मसात गर्न सक्ने धेरै जोखिमबाट बच्न सकिन्छ ।
कसरी हुन्छ आगलागी ?
आगलागी, हावा बढी चल्ने र सुक्खायामका कारण फागुनदेखि वैशाखसम्म धेरै हुन्छ । ग्रामिण भेगमा आगलागी मुख्य कारण चुलो, अगेनोमा बालिएको आगो र पराल, दाउरा र काठपात राखिएको गोठमा राम्रोसँग वाईरिङ नगर्दा त्यसबाट सट सर्किट भइ आगो सल्किने गरेको छ । तर, बजार क्षेत्रको आगलागीको मुख्य कारण भने विद्युतीय सट सर्किट, ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धुप बाल्ने चलन आदि देखिएका छन् ।
विद्युत सट हुनका मुख्य कारण
हाम्रो व्यबस्थित तरिकाले घर वाइरिङ गर्ने, दक्ष प्राविधिकबाट वाइरिङको काम गराउने चलन उतिसारो छैन । जसकारण घरमा प्रयोग गरिएको तार तथा फ्युजको क्षमता तथा विद्युतीय सामग्रीको भारको तारतम्य नमिल्दा विद्युत् सर्ट भएर आगो लाग्ने सम्भावना हुन्छ । हामी जथाभावी तार प्रयोग गर्ने, जतासुकै तार जोड्ने, बिजुली चोरेर सीधै प्रयोग गर्ने, विद्युतीय उपकरणहरू चिसो ठाउँमा राखेर चलाउने गर्छौं ।
के भन्छन् जनप्रतिनिधि ?
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार गाउँपालिकाले तत्कालै दमकल खरिद गर्न सक्ने अवस्थामा नरहेको बताउँदै आगलागी हुनै नदिन सचेतना कार्यक्रमहरु गर्दै गरेको बताउँछन् । उनले चाँडै नै विद्युत प्राधिकरणसँग छलफल गरेर आगलागीका घटनाहरुबारे पालिकाबासीमा सजग गराउन लागी पर्ने बताए ।
कसरी बच्ने आगलागीबाट ?
आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै हो । आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् । यस सँगै घर राम्रोसँग वाईरिङ गर्ने, प्रयोग सकिएपछि आगो निभाउने, ग्यास सिलिन्डर प्रयोग गर्दा ख्याल गर्ने जस्ता उपाय अपनाए आगलागीबाट केही मात्रामा बच्न सकिने विज्ञ बताउँछन् ।
मिति २०७९ चैत्र १ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित