झापा, पुस ८ । बढ्दो चिसोसँगै झापाको बिर्तामोडमा राजनीतिक गतिविधि भने तीव्र बन्ने भएका छन् । भोलिदेखि पुस १२ गतेसम्म बिर्तामोडमा चार फरक राजनीतिक दलले सभा तथा प्रदर्शन आयोजना गर्ने कार्यक्रम सार्वजनिक भएपछि यहाँको राजनीतिक माहौल तातिने देखिएको हो ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले क्रमशः बिर्तामोडलाई केन्द्र बनाएर कार्यक्रम तय गरेका छन् । यसै क्रममा भोलि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ चुनावी अभियानका लागि बिर्तामोड आउँदै छन् ।
उनले बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने झापा जिल्ला स्तरीय सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभाको सम्पूर्ण तयारी पूरा भइसकेको श्रम संस्कृति पार्टी झापा जिल्ला कार्यसमितिले जनाएको छ ।
यसैबीच नेकपा एमाले झापाले पुस १० गते बिर्तामोडमा खबरदारी कार्यक्रम गर्ने भएको छ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेपछि त्यसको विरोधस्वरूप खबरदारी कार्यक्रम आयोजना गर्न लागिएको एमाले झापाका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । सोही दिन बिर्तामोडसँगै दमकमा पनि कार्यक्रम राखिएको छ ।
पुस १२ गते भने बिर्तामोडमा दुई राजनीतिक दलका कार्यक्रम एकैदिन पर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनजागरण सभा आयोजना गर्ने जनाएको छ । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसै दिन नेपाली कम्युनिष्ट पार्टीले पनि बिर्तामोडमा कार्यक्रम राखेको छ । पार्टीको सन्देश सभालाई सम्बोधन गर्न नेता भीम रावल बिर्तामोड आउने निश्चित भएको छ ।



















