झापा । झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका–८ हर्चना टोल स्थित सैनिकमोड–भद्रपुर सडकखण्डमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ३६ वर्षीय सुदिर निरौला रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार राति करिब ८:१५ बजे सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका निरौलालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















