बुद्धशान्ति(पालिका सन्देश) । बुद्धशान्ति गाउँपालिकामा उद्योग स्थापना गर्न दक्षिण कोरियाली व्यबसायीहरुसंग गाउँपालिकाले सहकार्य गर्दै आएको छ । तीन करोड ७५ लाख अमेरिकी डलर अर्थात करिब नेपाली ५ अर्ब रकम बराबरको उद्योग स्थापना गर्न दक्षिण कोरियाली ब्यवसायीहरुसंग बुद्धशान्ति गाउँपालिका सहकार्य गर्ने गरी अघि बढेको गाउँपालिका सचिवालयले जनाएको छ ।
के इर्नजी सेभ दक्षिण कोरियाले उत्पादन गरेको विद्युत खपत कम गर्ने र भोल्टेज लाई स्थिर बनाउने उपकरण दक्षिण कोरियाबाट बुद्धशान्ति गाउँपालिकामा ल्याएर गाउँपालिकामा समेत परीक्षण गरिएको छ । यसको प्रयोगात्मक परिक्षणको निम्ति बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा कार्यगर्ने गरि जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
उत्पादक कम्पनीका वरिष्ठ इन्जिनियर संङ हैजुन सहितको उपस्थितमा अत्याधुनिक उपकरण बुद्धशान्ति आइपुगेको हो । उक्त उपकरणको परीक्षणबाट १६ देखि १८ प्रतिशतसम्म विद्युत खपत कम भएको बताइएको छ । साथै विद्युत भोल्टेजलाई पनि यसको प्रयोगबाट एकै मात्रामा स्थिर भएर प्रवाह गरेको छ ।
बुद्धशान्ति गाउँपालिकामा के इर्नजी सेभ कम्पनीले उत्पादन गरिरहेको विद्युत खपत कम गर्ने उपकरण (स्टेब्लाइजर) नेपालमा नै उत्पादन गर्न दक्षिण कोरियाका प्रमुख, वरिष्ठ इन्जिनियर, कम्पनीका निर्देशक सहितको टोलीद्वारा करिव दुई महिनाअघि बुद्धशान्तिका विभिन्न वडामा उद्योग स्थापना गर्न पायक स्थानहरुको अवलोकन गरिएको थियो । साथै उद्योग स्थापनाको प्रक्रिया अघि बढाउन स्थापना गर्ने सम्बन्धि दुई पक्ष बिच साझेदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।



















