बुधबारे जेसिजको हिजो शुक्रवार देखी जारी साधारणसभामा ७ पदका लागी १५ जनाको उम्मेदवारी परेको छ।
अध्यक्ष पदमा ३ जना, २ कार्यकारिणि उपाध्यक्षका लागी ६ जना र ४ उपाध्यक्षका लागी ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयुक्त जेसी अनिल वाग्लेले जानकारी दिएका छन्।
निर्वाचन कार्यतालिका अनुसार आज अपरान्ह ३ बजेसम्म उम्मेदवार माथी दावि बिरोधको समय छ।
अध्यक्ष पदका लागी बर्तमान महासचिव जेसी अर्जुन ढकाल, बर्तमान कार्यकारीणि उपाध्यक्ष जेसी सुजित बराल र सस्थापक सदस्य जेसी दुर्योधन सिंह देव प्रतिस्पर्धामा छन्।
२ कार्यकारीणि उपाध्यक्ष पदका लागी जेसी बिनोद रिजाल,जेसी अनिल घिमिरे, जेसी दिनेश खतिवडा, जेसी बिष्णु लामिछाने, जेसी राज पौडेल र जेसी कुशल अधिकारीको उम्मेदवारी रहेको छ।
त्यस्तै ४ उपाध्यक्ष पदका लागी जेसी प्रेम गौतम, जेसी चन्द्र वाग्ले, जेसी तिर्थ तिम्सिना, जेसी अच्युतराज ढकाल, जेसी उमेश भट्टराई र जेसी सुनिल भट्टराईको उम्मेदवारी परेको निर्वाचन मण्डलका सदस्य एवं पुर्वाध्यक्ष जेसी नन्दकुमार याफु राइले जानकारी दिएका छन्।
बुधबारे जेसिजमा यसअघि सम्म निर्वाचन मार्फत नयाँ पदाधिकारी चयनको अभ्यास नभएको चर्चा चलेपनि यसपटक निर्वाचनको प्रबल सम्भावना रहेको एक जेसिज सदस्यले बताए।
के भन्छन् पुर्वाध्यक्षहरु?
तर बुधबारे जेसिजमा महत्त्वपूर्ण र ठोस भुमिका रहने पुर्वाध्यक्षहरुको समुहले भने निर्वाचन नहुने बताईरहेका छन्।
पुर्वाध्यक्ष प्रेम प्रकाश भण्डारीले भने, “सबै उम्मेदवार योग्य देखिनुभएको छ, पुर्वाध्यक्षहरु पनि एक ठाउँमा छौं त्यसैले निर्वाचन सम्म पुग्नुपर्छ जस्तो लाग्दैन आपसी छलफलबाट सहमति जुट्छ”।
त्यस्तै निर्वाचन आयुक्त एवं निवर्तमान अध्यक्ष जेसी अनिल वाग्लेले बिधिको शासन पालना गर्ने भएकाले अन्तिम विकल्प निर्वाचन रहेको तर त्यस अघि नै सहमति हुने कुरामा आँफु बिश्वस्त रहेको उल्लेख गरे।
अर्का पुर्वाध्यक्ष जेसी रमेश बरालले अहिलेसम्म सहमति बाटै नयाँ समिति बनेको हुँदा यसपटक पनि चुनाव नहुने बताउँछन्।
उनले भने, “सहमतिबाटै नयाँ टिम आउँछ त्यसमा शंका छैन, सहमति र सहकार्यले पहिलो स्थान पाँउछ ढुक्क हुनुस चुनाव हुँदैन।”


















