झापा । कात्तिक १० गतेबाट मोरङको बेलबारीबाट बेपत्ता युवकको शव झापाको शिवसताक्षीमा फेला परेको छ । लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो ।
शवसंगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरु नआइपुगेकाले शवको पहिचान प्रष्ट भइनसकेको उनका भनाइ छ ।
बिर्तामोडमा रहेका आफन्तहरु आइसकेपछि पहिचान गर्ने काम हुने इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । शिवसताक्षी वडा नम्बर ११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा बुधबार दिउँसो शव फेला परेको हो ।
जंगलमा घाँस काट्न जाने महिलाहरुले सडेकोजस्तो गन्ध फैलिएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २५ देखि ३० वर्ष उमेर समूहको जस्तो देखिने पुरुषको पूरै शरीर सडेको अवस्थामा छ ।
प्रहरीका अनुसार घटनास्थलमा कालो टिसर्ट, कालो जिन्सको पाइन्ट, निलो रंगको व्याग फेला परेको छ । व्यागभित्र गाँजा र मदिरासमेत फेला परेको छ । शवको ३ मिटर नजिकमा भिभो मोवाइल फोन सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।