भद्रपुर, ९ फाल्गुण – मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक, सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको अन्तर्गत आज आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्।
यसअघि, बुधबार भएको खेलमा भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस टिमलाई ४-३ गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गतको खेल मेची रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ।
त्यस्तै, प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई नगद १ लाख ५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद २१ हजार रुपैयाँ प्रदान गरिनेछ।
यसैगरी, एकजना भाग्यशाली दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडको तर्फबाट हिमस्टार टिभी जित्न सक्नेछन्। एयरपोर्ट होटलको तर्फबाट एकजना दर्शकले दुईजनाका लागि डिनर जित्ने अवसर पाउनेछन् भने सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाले दुईवटा चाँदीका सिक्का पुरस्कारस्वरूप प्रदान गर्नेछ।