- – गङ्गाराम गड्तौला
भाग – १
मिति : शुक्रबार २२ चैत २०८१
समय : ७ बजे बिहानको आसपास
स्थान : बुद्धशान्ति भागीरथा अस्पताल परिसर ।
भिडभाड सेवाग्राहीको । डाक्टर । नर्स । कर्मचारी । टेक्निसियन । फार्मेसिस्ट । सुरक्षाकर्मी । बिरामी । कुरुवा । चहलपहल । दृश्यमा देखिन्छ ।
अन्यत्र के छ, थाहा भएन । बुद्धशान्तिको अस्पताल निजीभन्दा कम छैन । स्वास्थ्यकर्मीको सहयोगी पनले । कर्मचारीको व्यवहारकाले । सुविधाका हिसाबले । आधुनिक भवन । पर्याप्त खाली ठाउँ । खुल्ला । गाउँपालिकामा यत्तिको सुविधा बिरलै होला । आजसम्मको अवस्था हेर्दा खुलेर प्रशंसा गर्नुपर्छ यस अस्पतालको । राम्रोलाई राम्रो । नराम्रोलाई नराम्रो । कमीकमजोरी होलान् । सुधारका क्षेत्र पनि छन् । कहिलेकाहीँ सेवा प्रवाहमा पनि तलमाथि होला । सेवाग्राहीले दिनुपर्छ सुझाव !
राम्रो भएरै होला, सेवाग्राहीको घुइँचो हुने गर्छ । आज बिरामी आमालाई बिहानै इमर्जेन्सीमा लगेँ । रगत परीक्षण, दिसा-पिसाब परीक्षण, ल्याबटेस्ट, औषधि, सुगर, प्रेसर । के-केमा व्यस्त हुँदै गर्दा बाहिर ठुलै होहल्ला सुनेँ । एक मिनेट समय निकालेर गएँ हेर्न । सेवाग्राही कोही परैबाट रमिता हेर्थे ।२०-२५ जना झुम्म झुम्मिएका थिए – दर्शक । भिडको बिचमा एक जना सेवाग्राही र अर्को एक जना कर्मचारीबिच ठेलाठेल र भनाभन चलेको रहेछ । मानौं उनीहरू सडक नाटक गर्दै छन् । हेर्नेको भिड छ । हतार छ मलाई ! कर्मचारी प्रस्ट देखेँ, सेवाग्राहीको मुख देखिनँ । ती कर्मचारीलाई समातेर बाहिर ल्याए बरन्डामा – गेटबाहिर सुरक्षाकर्मीले । यो एक मिनेटको समयमा ल्याब र फार्मेसी पुगेर पुन: ती कर्मचारी भएठाउँ आएँ म, “के भो भाइ तँलाई ! किन कराको ?” प्रश्न गरेँ । “हेर्नु न काका ! म मान्छेको लाइन मिलाउन जाँदा उल्टै ममाथि हातपात भो !”
मगरको छोरो । जौडेमा जौडे । सहयोगीमा सहयोगी । मिलनसारमा मिलनसार । छाला दुखेपछि फेरि आँखा नदेख्ने पाराको छ ऊ । काँचो रिस पोख्यो – “सिङ्गल-सिङ्गल खेल्छ रे !” मलाई भन्दा बढ्दा भित्र ध्यान दिँदै उसले फेरि थप्यो – “आइज एई ग्राउन्डमा !”
अनि मैेले सम्झाएपछि अलि मत्थर भो र बस्यो बेन्चमा । हतारमै छु म ।
घटना भनिहालूँ । यस्तो रहेछ – पुर्जा काटेका बिरामीहरू ओपिडीमा झुम्मिएछन् । डाक्टरले भिड हटाउन ती कर्मचारी (गणेश मगर) लाई निर्देशन दिएछन् । उनले पनि सेवाग्राहीका हातका पुर्जा तान्दै लाइनमा बस्न भनेछन् । यसैबिच सायद उनको व्यवहार एक जनालाई मन परेनछ । अनि “तँ को होस् पुर्जा खोस्ने, मलाई चिनेको छस् !” भनिहालेछन् । अब के चाहियो र । दुवै जना ठेलाठेल, भनाभन र धकेलाधकेल गरेछन् । यस बेलासम्म मैले सेवाग्राहीलाई चिनेको छैन है ।
आधा घन्टा जति पछि मलाई फोन आयो, “तपाईं यहाँ आउनुस् त प्रशासनमा !” गएँ । प्रशासन अधिकृत – १ कुर्सीमा बसेका । गणेश मगर – २ उभिएको र अर्का एक व्यक्ति – ३ । मसँगै सुर्क्षाकर्मी पनि आए – १ । हामी पाँच जना भयौं । गणेशसित भनाभन गर्ने मानिस यी हुन् भनेर मैले लख काटेँ । अधिकृत केही भन्न खोज्दै थिए । आक्रोसित गणेश बोलिरह्यो । ती व्यक्ति बोलेनन् खासै । हतार थियो मलाई । “हात हालेको मैले देखिनँ । तपाईंबाट दुर्व्यवहार भएको छ । प्रशासन अधिकृत यहीँ हुनुहुन्छ । निकास निकालेर जानुहोस् ।” मैले भनें । ती दुवै जनालाई परिचय दिनु र तिनको परिचय लिनु आवश्यक ठानिनँ । आधा मिनेटमै फर्केँ इमर्जेन्सी वार्डमा ।
अँध्यारो अनुहार लाएको गणेश भेटियो । गेट बाहिर । आठ बजेतिर । म चिया लिएर आउँदा आमालाई ! “कुरो मिलो ?” भनेँ मैले । “अँ काका ! गाउँठाउँको मान्छे, झगडा गर्न हुँदैन, मिलेर जाओ भन्नुभयो सरले । ठिकै छ ।” अनुहार अलि उज्यालो पारेर उसले भन्यो । “ए ल, ल । कुरा मिलेछ ।” म काममा लागेँ ।
भाग – २
मिति : ऐजन
स्थान : ऐजन
समय : बिहान १० साढेको छेउछाउ ।
अस्पतालमा सेवाभन्दा बढी खासखुस प्रवाह हुन थाल्छ । कतै दुई जना, कतै तीन र कतै चार-पाँच जना आक्रोसित कर्मचारीहरू कुराकानी गर्छन् । सेवाग्राही बिहानका पनि छन् । नयाँ थपिएका छन् । कोही कुरो बुझ्छन् – कोही बुझ्दैनन् । आधा घन्टा जति अन्योल रह्यो । इमर्जेन्सी वार्डमा पनि कुरा चल्यो । मैले बोलेँ, “कर्मचारीमाथि दुर्व्यवहार निन्दनीय छ । सेवग्राही कस्ता छन् ! अपाङ्ग । अशक्त । वृद्ध । दोजिया । सुगर-प्रेसरका रोगी । तपाईं-हामी सचेत नागरिक । त्यसमा पनि समुदायको स्वास्थ्यमा समर्पित । पेसागत अधिकारका कुरा सम्बन्धित निकायमा गर्नुहोला । सुरक्षाको ग्यारेन्टीका लागि सरकारलाई दबाब दिनुहोला । काम नरोकौं ।”
“……………………।”
त्यसपछि उहाँहरूको सुरु भो मिटिङ । मिटिङ-मिटिङ-मिटिङ । हो, यति नै लामो मिटिङ बस्यो । अनि अन्तिममा मिटिङले ‘सेवा ठप्प पार्ने’ निर्णय गर्यो । सूचना टाँस गरियो – “अत्यावश्यक बाहेकका सबै काम ठप्प !”
बाहिर मान्छे र बिरामी छन् । प्रतीक्षालय, सिँढी, बरन्डा भरिएको छ सबैतिर । किं कर्तव्य विमूढ !
भाग – ३
स्थान : ऐजन
मिति : ऐजन
समय : १२ बजेतिर
“हेलो ! बुद्धशान्ति साप्ताहिक हो ? यहाँ अस्पतालमा कर्मचारीले काम ठप्प पारेका छन् । सेवाग्राही मर्कामा छन् । मिडियाले कर्मचारीको कुरा सुनिदिनुपर्यो रे !” मैले कल गरेँ रोशनलाई ।
“सर पनि ठट्टा गर्नुहुन्छ ! हामीलाई समेत निर्देशन दिने प्रेस क्लबको सल्लाहकार भएर पनि । के के भन्छन् टिपेर ल्याउनु न, भरे छापिहाल्छ नि !”
उताको जबाफ आएको तीन मिनेटपछि भावना आइन् भट्टराई । क्यामेरा छ र सागर लकान्द्री पनि छन् । प्रशासनमा मिटिङ छ । हामी तिनै जना प्रवेश गर्यौं । भावनाले क्यामेरा तेर्स्याएपछि गणेश कर्मचारी बोले । अनि अधिकृत । मेरी आमाको रिपोर्ट आएकै छैन ।
अन्तिम भाग – ४
केही मान्छे आए । केही जनप्रतिनिधि आए । प्रहरी आए । यतिखेर चाहिँ टाउको दुखेर गेट बाहिरको फलैँचामा असहज बसेको छु म । आमासित दुर्गा दिदी हुनुहुन्छ । मलाई सहज भएर नमस्कार गर्ने वा फर्काउने रहर पलाएन । बरु हाम्रो ल्हायो भेना र माहिल्दाइसित अर्गानिक गफ गर्दै बसेँ । तैपनि मैले बीस वटा नमस्कार नफर्काई धरै पाइँनँ ।
यही बेला हाम्रो “बालेन” आइपुगे – मनोज प्रसाईं । सरासर भित्र गए । वस्तुस्थिति बुझे । ठक-ठक-ठक-ठक । सबैलाई भेटे । सबै कोठामा गए । ल ठिक छ भनेर बाहिरिन खोज्दा मलाई देखे । पहिले नमस्कार गर्नुपर्छ मैले । धर्म मेरो । गरेँ मैले । दुई हात जोडे उनले पनि । भने, “तपाईँसित कुरा गर्नु छ । भित्र आउनु त !” म आज्ञाकारी बनेर पछि लागें ।
छिर्दै जाँदा भित्र कर्मचारीहरू बसेको घेरा तोड्दै हामी पुग्यौं “सेपरेट” ठाउँ । अध्यक्षले म प्रत्यक्षदर्शी रहेको पहिले नै थाहा पाएका रहेछन् । कुरो उठान मात्रै गरे – टु दि पोइन्ट ।
अनि मैले सारांश गरेँ घटनाको ।
यतिखेरसम्म अस्पताल सुचारु भइसकेको थियो । वा भनुँ अध्यक्ष मनोज प्रसाईंले कर्मचारीलाई सन्तुष्ट बनाएर काम सुचारु गर्ने वातावरण बनाइसकेका थिए ।
अनि मैले धन्यवाद दिएँ अध्यक्षलाई ! मनोज प्रसाईंलाई । बुद्धशान्तिका अभिभावकलाई ! तर मेरो तर्फबाट होइन, बिहान छ बजेदेखि एउटा सिटामोल पर्खिरहेका ८७ वर्षीय निरौला बाको तर्फबाट । उच्च रक्तचापले अनुहार रातो बनाएकी ७९ वर्षीया एकल वृद्धाको तर्फबाट । प्रसूति महिनामा पुगेका पेटधारी बहिनीहरूको तर्फबाट । कमसेकम धन्यवाद समेत दिन नसक्ने तमाम बिरामीको तर्फबाट ।
मेरा दुईवटा कुरा थिए :
कुरो नम्बर – १. हामीलाई सहयोग गर्ने कर्मचारी दुर्व्यवहारमा पर्नु अन्यायपूर्ण !
कुरो नम्बर – २. ती कर्मचारी र हामीलाई समेत आशीर्वचन दिने ज्येष्ठ नागरिक एउटा औषधिका लागि भोकले तड्पिएर पर्खनु दुर्भाग्यपूर्ण !
त्यसपछि विज्ञप्ति निकालियो ।
धन्यवाद