युद्धविराम भए पनि भारत र पाकिस्तानबीच वैमनस्य जारी छ।
उनीहरूले पालैपालो आआफ्ना देशमा रहेका एकअर्काका कर्मचारीलाई देश छाड्न भनिरहेका छन्।
भारतले आफ्नो देशमा रहेको पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न भनेको भोलिपल्ट बिहीबार (मे २२) पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छाड्न निर्देशन दिएको हो।
सम्बन्धित भारतीय कर्मचारीलाई पाकिस्तानले २४ घण्टाभित्र पाकिस्तान छाड्न भनेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका चार्ज डी अफेयर्सलाई बोलाएर यो निर्णयबारे जानकारी गराएको छ।
ती भारतीय कर्मचारीले पाकिस्तानमा आफ्नो आधिकारिक हैसियतविपरीतका गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।



















