प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि तय भएको मितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन पनि रहेको पाइएको छ ।
प्रधानमन्त्री ओली २ दिने भ्रमणका लागि भदौ ३१ अर्थात् १६ सेप्टेम्बरमा नयाँदिल्ली जाने गरी तयारी हुँदैछ । प्रधानमन्त्री मोदीको जन्मदिन १७ सेप्टेम्बरमा रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिन पारेर समकक्षी ओलीलाई २ दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिसकेको छ ।
भ्रमणअघि दुवै देशका सचिवस्तरीय बैठक पनि बस्ने जनाइएको छ । मन्त्रालयका अनुसार यसपटकको भ्रमणमा नयाँ एजेन्डा नभए पनि द्विपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउनेतर्फ केन्द्रित हुने जनाइएको छ ।
गत चैतमा थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक बैठकको साइडलाइनमा दुबै प्रधानमन्त्रीहरूबीच एक्लाएक्लै भेटघाट भएको थियो । त्यसअघि राष्ट्रसंघको महासभामा पनि दुवै प्रधानमन्त्रीहरूबीच भेटवार्ता भएको थियो ।