दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर सदरमुकामको बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको छ । नगरपालिकाभित्रका विभिन्न बजारबाट निस्केको फोहोर नजिकको खोल्सी र वा बाटोको छेउ कुनामा फाल्ने गरिएको छ ।
स्थानीय तहको निर्वाचनपश्चात निर्वाचित जनप्रतिनिधिहरूले नगरपालिकाभित्रको फोहोरको व्यवस्थापन गरे पनि बिगतको केहि महिनाबाट ब्यबस्थापनमा कठिनाई भएको छ । नगरपालिकाभित्र पर्ने बजारहरूमा फोहोरको उचित ढंगले बजार व्यवस्थापन गर्नको लागि धेरै ठाउँमा गर्ने सम्झौता भए पनि राजनैतिक प्रतिशोधका स्थानीय बासिन्दाको कारण फोहोर ब्यबस्थापन गर्न चुनौती भएको नगर प्रमुखको सचिवालयले जानकारी दिएका छन ।
नेपालका गाउँसहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । फोहोरमैला व्यवस्थापन ऐन, २०४८ र नियमावली, २०७० ले फोहोरमैलाको स्रोतमै न्यूनीकरण गर्ने, पुनप्रयोग, प्रशोधन र विसर्जन गर्ने ध्येय लिएको छ । साथै फोहोरका कारण जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपरोस् भन्ने कानुनको मनसाय रहेको पाइन्छ । यसर्थ, कानुनबमोजिम पालिकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापन गर्न ७५३ वटा नगरपालिका र गाउँपालिका क्रियाशील हुनु कानुनी दायित्व हो । यसमा पालिकाहरूले संघीय सरकार र प्रदेश सरकारसँग सहयोग र सहकार्य गर्नुपर्छ । यसमा दातृनिकायको सहयोगको पहल पनि गर्नुपर्छ । साथै निजी क्षेत्रसँगको साझेदारी पनि लाभप्रद हुन सक्छ ।
कानुनमा सामान्य फोहोरमैला, औद्योगिक फोहोरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला र हानिकारक फोहोरमैला हुन सक्ने कल्पना गरिएको छ । यी सबै फोहोरलाई फरक–फरक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ । फोहोरलाई मोहोर बनाउने उद्देश्यका साथै कैयौं स्थानीय सरकार सिर्जनशील योजनासहित अघि बढेका छन् । सामान्यतः फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने गरिएको छ । कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्न सकिन्छ भने नकुहिने फोहोरलाई प्रशोधन गर्ने कारखाना जडान गर्नुपर्ने हुन्छ । फोहोरको स्रोत मै नियन्त्रण गर्न कैयौं पालिकाले आफूलाई प्लास्टिकमुक्त घोषणा गर्न थालेका छन् । पालिकाले जनस्वास्थ्यका लागि सफाइ अभियान सञ्चालन गर्नुपर्छ । आफ्नो पालिकालाई कसरी नमुना पालिका बनाउने भनी पालिकावासीसँग सरसल्लाह गर्नुपर्छ ।
कुनै पनि प्रकारको संक्रमण फैलिन नदिने एक मात्र तरिका फोहोर व्यवस्थापन गर्ने नै हो । जुन कुरामा पालिकाहरू आफ्नो कार्यक्षेत्रमा खरो उत्रिनुको विकल्प छैन । कानुनमा स्थानीय सरकारले फोहोरमैला संकलन केन्द्र तोक्ने व्यवस्था छ । यस्तो स्थान तोक्दा भरसक मानवबस्तीलाई असर नपर्ने कुराको ख्याल गर्नुपर्छ । यसैगरी, फोहोरमैलाको ढुवानी गर्दा सडकमा फोहोर नखस्ने, दुर्गन्ध नफैलिने र सार्वजनिक यातायातमा असर नपुर्याउने प्रबन्ध गर्नुपर्छ । यस कामका लागि कैयौं पालिकाले आफैंले ट्याक्टर वा फोहोरमैला बोक्ने सवारीसाधन खरिद गरेका छन् भने कैयौं पालिकाले फोहोरमैला ढुवानीको जिम्मेवारी संघसंस्थालाई दिएका छन् । यस्तो फोहोर गाईवस्तुले खाने, कुकुर बिरालोले छरिदिने गरेको देखिन्छ ।
यसका निमित्त जनचेतना र पालिकाको रणनीतिले सफलता हात पर्ने हुन्छ । मूल कुरो बस्ती विकास हुँदै गएपछि फोहोर पनि बढी नै परिमाणमा उत्पादन हुँदै जाने हुँदा यसको व्यवस्थापनको रणनीतिमा पालिकाहरू समयमै जुट्नुपर्छ ।