झापा – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सोमबारबाट झापाको कचनकवलमा सुरु गरेको ‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’को उद्घाटन कार्यक्रममा पार्टीका सबै पदाधिकारी सहभागी भएका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आयोजित कार्यक्रममा समयभन्दा करिब एक घण्टा ढिलो सुरु भए पनि नेताहरूले आफ्ना मन्तव्य राख्ने अवसर पाएका थिए।
कार्यक्रममा सबै उपमहासचिव, महासचिव तथा दुई उपाध्यक्षले मन्तव्य राखे। माओवादी केन्द्रका यसअघि आयोजित कार्यक्रममा यति धेरै नेताहरूले लामो सम्बोधन गर्ने गरेको देखिएको थिएन। तर, यस पटक अध्यक्ष दाहालले पार्टी भित्र कुनै असहमति नरहेको सन्देश दिन चाहेका हुन सक्ने अनुमान गरिएको छ।
तर, कार्यक्रममा एउटा असहज स्थिति सिर्जना भयो। जब वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका थिए, त्यसै बेला माओवादी केन्द्र झापा अध्यक्ष राज आचार्य ‘अग्नि’ उनको छेउमा उभिए। श्रेष्ठले आचार्यको उपस्थितिप्रति आपत्ति जनाउँदै भने, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो? हो भने भन्नुस्। म जान्छु।’
आचार्यले अस्वीकार गरे पनि श्रेष्ठ पुनः जंगिएर सोधे, ‘किन अगाडि उभिन आउनु भएको?’ उनले दर्शकदीर्घातर्फ फर्किएर भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’
श्रेष्ठको अप्रत्याशित प्रतिक्रिया पछि कार्यक्रम केही बेर असहज बनेको थियो। अध्यक्ष दाहालले उक्त घटनालाई सामान्य बताउँदै यसको समीक्षा गरिने बताएका छन्।
माओवादी केन्द्रले सञ्चालन गरिरहेको ‘तराई-मधेश जागरण अभियान’लाई सशक्त बनाउन यो अभियान सुरु गरेको भए पनि कार्यक्रमभित्रकै असमझदारीले पार्टी नेतृत्वलाई समीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।