काठमाडौं । गएको माघ महिनामा सवारी साधन दुर्घटनाको संख्या अत्यधिक उच्च रहेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनामा मात्र ४,५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल २,९०६ दुर्घटनामा यति धेरै सवारी साधन संलग्न थिए। ती दुर्घटनामा १९९ जनाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार दुर्घटनामा पर्ने सवारीमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। एक महिनामा मात्रै दुर्घटनामा परेको सवारीमध्ये २,४७४ मोटरसाइकल रहेका छन्, जुन कुल दुर्घटनाको ५४.५५ प्रतिशत हो।
त्यसपछि २१.२१ प्रतिशत दुर्घटनामा जीप, कार, भ्यान र माइक्रोबस संलग्न भएका छन्। अन्य सवारीमध्ये बस ५.५३ प्रतिशत, ट्रक र ट्याङ्कर ६.२ प्रतिशत, ट्याक्टर २.३६ प्रतिशत तथा टेम्पो ५.१८ प्रतिशत दुर्घटनामा परेका छन्। डोजर, लोडरलगायतका अन्य सवारी साधन पनि दुर्घटनामा परेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरी प्रधान कार्यालयको विश्लेषण अनुसार तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको छ। चालकको लापरवाहीका कारण १,१७९ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनकै कारण धेरै दुर्घटना भएका छन्।
यस्तै, बाटो काट्ने पैदल यात्रुहरूको कारण पनि दुर्घटना भएको पाइएको छ। चालकको लापरवाहीबाट ८६४ दुर्घटना भएका छन् भने मापसे गरेर सवारी चलाउँदा २०४ दुर्घटना भएका छन्।
ती दुर्घटनामा १९९ जनाले ज्यान गुमाएका छन्, जसमा १४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन्। त्यस्तै, दुर्घटनामा ५६० जना गम्भीर घाइते भएका छन् भने ३,३५१ जना सामान्य घाइते भएका छन्। (रासस)