इलाम — इलामको माङसेबुङ गाउँपालिका–५ मा विषाक्त च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ। चिया बगानमा उम्रिएको च्याउ खाँदा बिरामी परेका ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो।
बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार छ दिनअघि उनीहरूले चिया बगानमा भेटिएको जंगली च्याउ खाएका थिए। त्यसपछि उनीहरूमा एक्कासी स्वास्थ समस्या देखिएको थियो।
बिरामी परेकी मनिषा लिम्बू र नुमा लावतीको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। अमर लावतीको भने उपचारकै क्रममा आज बिएनसी अस्पतालमा मृत्यु भएको डा. घिमिरेले जानकारी दिए।
स्थानीय तह र स्वास्थ्य निकायले च्याउ सेवनका जोखिमबारे सचेत रहन र जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेका छन्।