भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यो आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख, अर्थात् ८.३९ प्रतिशतले वृद्धि हो। गत आवको पहिलो छ महिनामा काँकरभिट्टा नाकाबाट रु २३ अर्ब नौ करोड ८८ लाख बराबरका वस्तु आयात भएका थिए।
तर, चालु आवको पहिलो छ महिनामा सो नाकाबाट हुने निर्यात भने घटेको छ। पुस मसान्तसम्ममा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरका वस्तु विभिन्न मुलुक निर्यात भएका छन्। गत आवको सोही अवधिमा भने रु १३ अर्ब ८४ करोड चार लाख बराबरको निर्यात भएको थियो। यसअनुसार निर्यात १.२० प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।
पूर्वीनाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, काउली, बन्दागोपी, ब्रोकाउली तथा विभिन्न जडीबुटी रहेका छन्।
यस्तै, आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ र अलकत्रा बिटुमिन लगायत रहेका छन्।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आयात–निर्यात कारोबारबाट रु आठ अर्ब ४० करोड ९१ लाख ९६ हजार राजस्व संकलन भएको छ।



















