मोरङ – कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर मोरङको लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् ।
लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राईले विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा दिन थाल्नुभएको छ । उहाँले अराविका जातको कफीको वार्षिक ४० हजार बिरूवा आफैं तयार गर्नुभएको छ । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उहाँले खेती पनि गर्नुभएको छ ।
लेटाङ–७ का एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताउनुभयो । भौगोलिक हिसाबले विकट मानिने यस ठाउँमा कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको अध्यक्ष लिम्बूले बताउनुभयो । वडा नम्बर १ मा पनि व्यावसायिक कफीखेती शुरू भएको छ ।
लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिकाका मेयर भुपेन्द्रकुमार लावतीको भनाइ छ ।