‘रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ ।
यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ । विभिन्न स्थानमा रक्तदानको अभियान नै चलाइएको हुन्छ, तर मान्छेहरु रक्तदानका लागि तयार हुँदैनन् । यसो हुनुमा रक्तदानप्रति मान्छेको गलत धारणा पनि एक हो ।
कतिपयले के भन्छन् भने रक्तदान गर्ने क्रममा अरु रोग सर्न सक्छ । जस्तो कि, एड्स, क्यान्सर आदि । तर, चिकित्सकहरु यस्तो कुरा स्वीकार्दैनन् । उनीहरु भन्छन्, रक्तदानले केवल अरुलाई जीवनदान मात्र मिल्दैन, स्वयम् दातालाई पनि फाइदा गर्छ ।
एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित छ । जब रक्तदान गर्नका लागि जानुहुन्छ, तब चिकित्सकले तपाईंको हेमोग्लोबिन, ब्लड प्रेशर र तौल जाँच गर्छन् । सबै कुरा ठीकठाक वा सामान्य भएमा तपाईंलाई रक्तदानका लागि अनुमति दिइन्छ । १८ देखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि तपाईंको शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ ।
किन जरुरी छ रक्तदान
तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ । शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ । उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।
रक्तदानको फाइदा :
रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि तपाईंको रक्तदान जरुरी हुन्छ ।
- रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।
- रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।
- रक्तदान गर्नाले तपाईंको शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले तपाईंमा नयाँ उर्जा मिल्छ ।
- रक्तदानपछि हेपटाइटिस बी, सी, एचआईभी र केही रोगको परीक्षण गरिन्छ । अतः यस्ता संभावित रोगको शुरुमै पहिचान गर्न सहयोग हुन्छ ।
रक्तदानपछि हुने केही साइड इफेक्ट
रक्तदानपछि केही शारीरिक कमजोरी महसुस हुनसक्छ । कतिपयलाई चक्कर लाग्छ, वान्ता पनि हुन्छ । सुई लगाएको ठाउँमा दुखाइ महसुस हुन्छ । तर, बुझ्नुपर्ने कुरा त के भने यस्तो साइड इफेक्ट एकदमै कम मान्छेमा मात्र हुन्छ । साथै यी सबै कुरा एकदमै सामान्य हुन्छ, जो चाँडै निको भइहाल्छ ।