भद्रपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुरको पाँचौँ नगर अधिवेशन ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले राजकुमार राईको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङदेनले देशको विकासमा राप्रपा नै वैकल्पिक शक्ति भएको दाबी गर्दै नवनिर्वाचित कार्यसमितिलाई इमान्दारीपूर्वक देश र जनताको पक्षमा काम गर्न शुभकामना दिएका थिए।
लिङदेनले कांग्रेस, एमालेजस्ता दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले देश पछाडि परेको आरोप लगाउँदै यस्ता पार्टीहरूको लामो नेतृत्वले कुनै ठोस परिवर्तन नल्याएको बताएका थिए। साथै, उनले देशमा विद्युत उत्पादन र व्यापारको पर्याप्त सम्भावना रहे पनि सरकारले त्यतातर्फ ध्यान नदिएको भन्दै कमजोर अर्थतन्त्रको आलोचना गरे।
कार्यक्रममा सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यहरू अञ्जार आलम र डि.बी. थापा, प्रदेश सभा सदस्य निमसरी राजवंशी, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अभिषेक ढुंगाना, कुमार थापा, र अन्य नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
भद्रपुर नगर संयोजक सीता लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन माधव पोखरेलले गरेका थिए।
अधिवेशनमा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी करिब ८० जनाले राप्रपामा प्रवेश गरेका थिए।
यस अवसरमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, र विभिन्न तहका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
नयाँ कार्यसमितिले भद्रपुरमा पार्टीलाई थप मजबुत बनाउने र जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ।