झापा। लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन, सुर्तिनियमन ऐन तथा निर्देशिकाको प्रभावकारी कार्यान्वयनको माग गर्दै अनुरोध पत्र बुझाएको छ।
संस्थाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीको नेतृत्वमा प्रशिक्षक कल्पना भट्टराई, परामर्शकर्ता दर्शन भट्टराई र अशिम श्रेष्ठको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई उक्त पत्र हस्तान्तरण गरेको हो।
अनुरोध पत्रमा लागूऔषध दुर्व्यसनको सुरुआती चरण सुर्तिजन्य तथा मदिराजन्य पदार्थ भएको उल्लेख गर्दै मौजुदा कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायलाई परिचालन गर्नुपर्ने माग गरिएको छ। पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले सम्बन्धित प्रहरी युनिट तथा कार्यालयहरूलाई निर्देशन दिई कानुन कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे।
चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईका अनुसार संस्था विभिन्न संघ-संस्थासँगको समन्वयमा ७२ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ भने सदरमुकाम तथा प्रमुख बजार क्षेत्रमा कानुन सम्बन्धी जानकारी अंकित सूचना टाँसिसकेको छ।
परामर्शकर्ता अशिम श्रेष्ठ र दर्शन भट्टराईले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको नेतृत्वमा लागूऔषध दुर्व्यसन न्यूनीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै चेतना नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।