कनकाई, १० जेठ — लागुऔषध नियन्त्रणदेखि खेलकुद, स्वास्थ्य, कर र फोहोरमैला व्यवस्थापनसम्मका साझा एजेण्डामा झापाका पालिकाहरू एकजुट भएका छन्। कनकाई नगरपालिकामा सम्पन्न परामर्शात्मक बैठकमा सहभागी पालिका प्रमुखहरूले जिल्लाका साझा समस्याको समाधानका लागि सहकार्य र एकरूप रणनीति आवश्यक रहेको बताएका हुन्।
कनकाई नगर प्रमुख रामप्रसाद पोखरेलले लागुऔषधको चुनौती समाधानका लागि छुट्टै होल्डिङ सेन्टरको स्थापना गरी दुर्व्यसनीलाई उद्यमशिलतामा जोड्ने विचार राखे। उनले सुरक्षा संयन्त्रसँग समन्वय गर्दै जिल्लास्तरीय साझा कार्ययोजना अघि बढाउनुपर्ने बताए।
खेलकुदलाई युवापुस्ताको क्षमता विकाससँग जोड्दै पालिकाहरूले आ–आफ्नो क्षेत्रीय विधामा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने र जिल्लामा एकीकृत ट्रेनिङ सेन्टर निर्माण गर्ने विषयमा सहमति जनाए।
मानव सेवा आश्रम (मेचीनगर–४) का भौतिक संरचना तथा प्रशासनिक व्यवस्थापनमा प्रत्येक पालिकाबाट कम्तीमा पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने अघिल्लो निर्णय कार्यान्वयन गरिने बताइएको छ।
मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कर र बजार भाडादरमा एकरूपता ल्याउन आवश्यक रहेको धारणा राखे। उनले विषादीयुक्त खाद्यसामग्री नियन्त्रण र नदीजन्य पदार्थ उत्खननमा पालिकाहरूबीच समन्वय हुनुपर्नेमा पनि जोड दिए।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय नहुँदा काम कारबाही प्रभावित भएको जनाउँदै यस्ता समस्या समाधानका लागि फोरममै छलफल आवश्यक रहेको बताए।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले स्वास्थ्य बीमा अन्तर्गत औषधि खर्च भुक्तानीमा ढिलाइ हुँदा समस्या आएको जानकारी दिए। विषादी परीक्षण र नदीजन्य पदार्थ उत्खननमा एकरूपता ल्याउनुपर्नेमा पनि उनले जोड दिए।
अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देनले वैज्ञानिक उपकरणसहितको पशुसेवा प्रणाली सबै पालिकामा लागू गर्ने साझा अवधारणा आवश्यक रहेको बताए। उनले प्रमुख जिल्ला अधिकारीद्वारा पालिकाको अनुमतिविना गरिएका उत्खनन अनुगमनप्रति आपत्ति जनाए।
विर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईँले सडक विस्तारमा विद्युत पोल स्थानान्तरणको समन्वय अभावले समस्या भइरहेको जानकारी दिइन्। कमल गाउँपालिकाको पाडाजुँगीमा सशस्त्र प्रहरीले निर्माण गर्न लागेको विद्यालयमा सहयोग गर्नुपर्ने धारणा पनि उनले राखिन्।
शिवसताक्षी नगर प्रमुख मेगाहाङ्ग थोप्राले खेलकुदमा बजेट ठूलो मात्रामा खर्च भइरहेको उल्लेख गर्दै साझा अवधारणामा आधारित गतिविधि सञ्चालन गर्दा खर्च र प्रभाव दुवैमा सुधार आउने विश्वास व्यक्त गरे। उनले फोहोरमैला व्यवस्थापनमा गौरादह नगरसँगको सहकार्यलाई उदाहरणीय माने।
गौरीगन्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले स्वास्थ्य सेवाको विस्तारसँगै जनशक्ति अभावको समस्या उठाउँदै, कर व्यवस्थापनमा कार्यविधि बनाएर एकरूपता ल्याउनु पर्ने बताइन्।
बैठकमा सहभागी सबै पालिका प्रमुखहरूले लागुऔषध नियन्त्रण, खेलकुदको विकास, कर प्रणालीमा एकरूपता, स्वास्थ्य सेवा विस्तार, फोहोर व्यवस्थापन र पशुसेवामा साझा कार्ययोजना आवश्यक रहेकोमा सहमति जनाए। उनीहरूले संघीयताको सफल अभ्यासका लागि पालिकाहरूबीच निरन्तर संवाद र सहकार्य अपरिहार्य रहेको धारणा राखे।