लामो समयदेखी लिच्चि बगान भएका सुरेश खतिवडा आफ्ना बगैचाबाट लिच्ची चोरी भएपछि व्यंग्यको रूपमा यो लेख राख्न अनुरोध गर्छन।
१.लिच्ची पाक्ने बेला भएपछि त्यो घरको बाटो नहिँडनू । लिच्ची साहुले त्यो दुई चार दिनबाट थिएन, त्यसले चोरेन भनेर शंका गर्न बाध्य होस् ।
२.लिच्ची भएको घरमा गइहाले पनि र लिच्चीको कुरा उठे पनि आफूलाई खासै मन नपर्ने कुराले लिच्ची साहुको ध्यान भङ्ग गर्नू ।
३.लिच्चीको बोटमा चड्नै नसक्ने कस्तो बानी हो भन्ने भ्रम गाउँमा छोड्नू ।
४.धेरै ठूलो समूहमा चोर्न नजानू किनकि ठूलो समूहमा जाँदा हल्ला धेरै र भागमा लिच्ची थोरै पर्ने सम्भावना रहन्छ ।
५.लिच्ची भएको घरको छोरा साथी छ भने उसलाई समूहमा सामेल नगराउनू । (मैलेजस्तो आफ्नै घरको लिच्ची केटाहरूको लहैलहैमा लागेर सबैले चोर्दैनन् ।)
६.लिच्ची दिउँसो चोर्नु हुँदैन । दिउँसो चोर्दा आफूले ज्यानको बाजी थापेर चोरेको लिच्चीमा हक जमाउन छिमेकी पनि आइपुग्छन् । त्यसैले लिच्ची चोर्ने उत्तम समय बेलुकाको नौ बजे पछाडि हो ।
७.आजकाल बिजुलीको पोलमा बत्ती पनि जोडेको हुन्छ । त्यसको स्वीच पोल नजिकको घरमा बाहिरै हुन्छ । आफ्नो समूहको एक जनालाई खुसुक्क बत्ती निभाउन पठाउनुपर्छ । यसो गर्नाले बाटोमा को हिँड्यो भनेर चिन्ने सम्भावना कम रहन्छ ।
८.लिच्ची बारीमा पसेपछि धेरै मोबाइलको लाइट प्रयोग गर्नु हुँदैन ।
९.लिच्ची चोर्दा आवाजमा एकदम ध्यान दिनुपर्छ । ज्यादै सानो स्वरमा साउती मार्दै बोल्नाले हल्लामा आफैँ कन्ट्रोल हुन्छ ।
१०.रूख चढ्न जान्नेलाई मात्र रूखमा चडाउनुपर्छ ।
११.दिउँसो एकपटक अनिवार्य कसैलाई लिच्चीको अनुगमन गर्न लगाउनुपर्छ । अनुगमनबाट यो तथ्य थाहा हुन्छ कि कुन हाँगातिर लिच्ची बढी पाकेको छ र कुन हाँगातिर अलि कम पाकेको छ ।
१२.रूखकौ हाँगोसँगै चोर्नु हुँदैन । लिच्चीका झुप्पालाई बढो प्रेमसहित टपक्क टिप्नुपर्छ ।
१३.हामी लिच्ची चोर्दा बोराको प्रयोग गर्छौँ तर यो ज्यादै गलत कुरा हो । बोरा बोकेर रूखमा चड्दा लडिने डर रहन्छ । त्यसैले उक्त समयका कलेजको ब्याग वा अन्य कुनै भिर्ने ब्याग बोकियो भने हामीलाई लिच्ची चोर्दा थप सहजता हुन आउँछ ।
१४.झट्टी हान्ने वा बाँस प्रयोग गर्ने कार्य बिल्कुल गर्नु हुँदैन । यी प्रयोग भए भने आवाज आउँछ र लिच्ची साहुले थाहा पाउने सम्भावना रहन्छ ।
१५.लिच्ची चोरेर खाएपछि बोक्रा लिच्ची साहुको घरनजिक फ्याल्नु हुँदैन । भरसक लिच्चीको बोक्रा पैनीतिर, पानी बग्ने कुलोतिर वा मलखाडीतिर फ्याल्नुपर्छ । मलखाडीतिर फ्याल्दा फरुवाले छोपछाप पनि पार्नुपर्छ किनकि लिच्ची साहु घुम्दै घुम्दै घरतिर आए भने बर्बाद ।