विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले पालिकाभित्रका युवालाई कोरियन भाषा प्रशिक्षण कक्षा निःशुल्क संचालन गर्ने भएको छ ।
पालिकाले फागुन १५ गते यसबारे सूचना जारी गरेको हो । निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन हुने जानकारी दिँदै सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय मार्फत फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको छ ।
पालिकाले इच्छुक युवालाई नागरिकता, शैक्षिक योग्यताको फोटोकपी, पासपोर्ट साइजको ३ वटा फोटो र वडा कार्यालयबाट वार्षिक आय प्रमाणित गरेको सिफारिससहित पालिकामा वा वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद दुलाल र व्यवस्थापक प्रभुनाथ झाले जारी गरेको सूचनामा तालिमका लागि प्रशिक्षार्थी छनोट गर्दा कमजोर आर्थिक अवस्था भएको, शैक्षिक योग्यताक्रम, विदेशबाट फर्किएका र स्वदेशमै रोजगार गर्न इच्छुकलाई प्राथमिकता दिने उल्लेख छ । रातोपाटीमा खबर छ ।