काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या १२ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो आव २०८०/८१ को सोही अवधिको तुलनामा ११.९१ प्रतिशतले वृद्धि भएको हो।
गत आवको पहिलो १० महिनामा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए भने चालु आवको सोही अवधिमा यो संख्या ६ लाख ८५ हजार ९२४ पुगेको छ। यस अवधिमा ७३ हजार ४०३ जना श्रमिकले बढी श्रम स्वीकृति लिएका छन्।
चालु आर्थिक वर्षको मङ्सिर महिनामा सबैभन्दा धेरै ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएका थिए भने असोजमा सबैभन्दा कम ५३ हजार ४२५ जनाले स्वीकृति लिएका थिए।
अन्य महिनाको तथ्याङ्क अनुसार, साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, कात्तिकमा ७० हजार ९९०, पुषमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।