- तीर्थ तिम्सिना
वर्षा ऋतुको अन्त्य र शरद ऋतुको आगमनसँगै चिसो मौसमको सुरूवात हुन्छ । एकाबिहानै टिलिक्क परेको घाम उदाउन सुरु भएसँगै दसैँको मौसम सुरु भएको आभाष हुन्छ । त्यसमाथि टेलिभिजन र रेडियोमा मालसी धुन गुञ्जिन थाल्छ । विभिन्न परिस्थिति र बाध्यताले देश तथा विदेशमा टाढिनुपरेका आफन्तजनहरूको आगमनले हर्ष, उल्लासका साथ आउने र मनाउँने दशैं पर्वको रौनकतामा थप सुखानुभुति थपिदिन्छ । देश बिदेश वा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ ।
बालक देखी वृद्ध सम्म सवै उमेर समूहलाई चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न् । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । त्यही भएर हामी हिन्दुहरुको महान् चाडको रुपमा दसैँ हर्सोल्लासका साथ मनाउछौँ ।
मौलिक संस्कृति र परम्परामा नेपाली समाज विशिष्ट छ । यहाँका चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै समग्र नेपाली संस्कृतिका पहिचान हुन् । यीमध्ये बडा दसैँ नेपालीको प्रमुख चाड हो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन दसैँ मानिने भए पनि सुरुका नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमीका रूपमा मानिन्छ । दशैंलाई स्थान र परिवेशअनुसार बडादसैँ, विजयादशमी नामबाट पनि मनाइन्छ । बडादसैँका अवसरमा गरिने नवदुर्गाको पूजालाई परम्पराको निरन्तरताभन्दा पनि यसले दिएको सन्देशलाई बोध गर्नुपर्ने आदर्श दसैँले व्यक्त गरेको छ ।
नारीशक्तिको आराधना र सम्मान गर्नुपर्ने मत नेपाली समाजमा परापूर्वकालदेखि स्थापित रहेकाले वर्तमान विश्वले महिला अधिकार, सम्मान, समान अवसर र सहभागिताका नारा लगाइरहँदा नेपाली संस्कृतिले त्योभन्दा माथि उठेर नारीशक्तिको आराधना र आत्मबोध गरेको पाइन्छ । यस सन्दर्भमा नेपाली संस्कृति कैयौँ कदम अगाडि र फराकिलो छ । दसैँमात्र होइन कुनै पनि पर्वले विशेष सन्देश दिएका हुन्छन् । राम्रो लगाईने, मिठो मसिनो खाइने, मनोरञ्जन गरिने दशैँले अप्रत्यक्षतः पारिवारिक र राष्ट्रिय एकतालाई सुदृढ पार्दै आएको छ । सद्भाव, क्षमा, स्नेह, प्रेम, मेलमिलाप, सहिष्णुता र सत्यको विजयजस्ता सन्देश मानवकल्याणका अटुट स्रोत हुन् जो दसैँको मुख्य सन्देश हो ।
दसैँले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर साझा उद्देश्य प्राप्तार्थ सहकार्यका लागि प्रेरणा दिनेछ । तडकभडक र उच्छृङ्खलतालाई कुनैपनि स्थान दिँदैन । दसैँमा क्षमताले भ्याएन भने ऋणै काटेर भएपनि खर्च गर्नेतिर लाग्नु पर्ने आवश्यकता होइन । आफ्नो गच्छेअनुसार दसैँ मान्न सकिन्छ तर सामाजिक मूल्यमान्यता, लोकपरम्परा, विश्वासमा आएका परिवर्तनसँग दसैँ लगायत कुनै पनि चाड मनाउने तरिकामा भिन्नता आउनु स्वाभाविक हुन्छ । शास्त्रले भनेबमोजिमका विधि विधानअनुसार चाडबाड मनाउन सम्भव नभए पनि यसको सन्देश पक्षलाई महत्व दिई चाडको गरिमा वृद्धि गर्न सकिन्छ । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उक्तिलाई व्यवहारमा लागु गरिएन भने गरीब, विपन्नकालागि दसैँ दशा पनि बन्न सक्दछ । त्यसैले अरुको देखासिखि होइन आफ्नो गच्छेमा आधारित भएर दसैँ मनाउनु बुद्धिमानी हो ।
नेपाली समाजले इतिहासदेखि अवलम्बन गरेको बहुलवादका कारण आज दसैँ, तिहार, छठ वा लोसार नेपालीका साझा चाड भएका छन् । विश्वका विभिन्न कुनामा पुगेका नेपालीसँगै दसैँजस्ता चाड ती ठाउँमा पुगेका छन् । एकले अर्काको संस्कृतिलाई सम्मान गर्ने हाम्रो स्थापित परम्परा नै नेपाली विशेषताको सहिष्णुता पनि हो । दसैँले नयाँ पुस्तालाई यही सन्देश दिँदै आएको छ ।
हर्ष र खुसियालीको पर्व दसैँ मनाइरहँदा स्थानीय तहले दोस्रो कार्यकालका लागि स्थानीय सरकार सञ्चालन गर्ने निर्वाचित पदाधिकारी पाएको छ र एउटा छुट्टै उमङ्ग थपिदिएको छ । आशा गरौं जनपीडा प्रति नयाँ स्थानीय निकायका जनप्रतिनिधिको ध्यान अवश्य पनि पुग्ने छ । हरेक जनताका साझा जनप्रतिनिधि भएर काम गरेर राजनीतिक अन्यौललाई चिर्दै अघि बढ्न, शान्ति समुन्नति अनि सुव्यवस्था कायम गर्न माता दुर्गा भवानीले सदैव सत्प्रेरणा प्रदान गरुन् । देशले उन्नतिको मार्गमा काँचुली फेर्न सकोस् । सबै नेपालीका बीच सद्भाव अझै प्रगाढ बन्नुका साथै सबैका घर मनमस्तिष्कमा आनन्दको सञ्चार छाओस् । रातो टिका र जमराको साथमा हर्ष उल्लास बाँढ्न मिल्ने विजया दशमीले सबैको घरमा खुशी बढाउन सकोस् । सवैमा हार्दिक मंगलमय शुभकामना ।