​सन्थाल समुदायको ‘दिसोम सोहराई’ पर्व अबदेखि जनवरी ४ मा मनाइने

भद्रपुर । पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसंख्यक सन्थाल समुदायको मुख्य चाड ‘दिसोम सोहराई’ मनाउने मितिको अन्योल हटेको छ। अबदेखि यो पर्व हरेक वर्ष जनवरी ४ बाट सुरु भई ९ देखि १३ तारिखसम्म मुख्य उत्सवका रूपमा मनाउने टुङ्गो लागेको हो।

​यसअघि निश्चित मिति फेला नपर्दा सन्थाल समुदायले फरक–फरक समयमा यो पर्व मनाउँदै आएका थिए। यति मात्र नभई, झापाका स्थानीय तहहरूले समेत फरक–फरक दिनमा सार्वजनिक बिदा दिँदा अन्योल सिर्जना भएको थियो। यही द्विविधा अन्त्य गर्न भद्रपुर नगरपालिका–३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु) को नेतृत्वमा १६ सदस्यीय टोली भारतको झारखण्डस्थित दुम्का पुगेर फर्किएपछि यो निर्णय गरिएको हो।

EPIC EPIC EPIC

​टोलीले सन्थाल समुदायको उद्गम स्थल मानिने झारखण्डको दुम्कामा रहेका धार्मिक स्थल, मठ–मन्दिरको भ्रमण गर्नुका साथै त्यहाँका विज्ञ र समुदायका अगुवाहरूसँग छलफल गरेको थियो। झारखण्डको सन्थाल परगना शैलीअनुसार अब नेपालमा पनि जनवरी ४ बाटै सामूहिक रूपमा सोहराई मनाउने अभियान सुरु गरिने बताइएको छ।

​बिहीबार भद्रपुर फर्किएको उक्त टोलीलाई राप्रपाका नगर अध्यक्ष राजकुमार राई, पूर्वप्रहरी सङ्गठन झापाका अध्यक्ष अम्बिका पोखरेल लगायतले स्वागत गरेका थिए।

के हो ‘दिसोम सोहराई’?

​सन्थाल अगुवा लाल हस्दाका अनुसार:

  • सोहराई: सन्थाल भाषामा गाई, भैँसी र गोरुजस्ता पशुधनको पूजा तथा सम्मान गरिने पर्व हो। यो विशेषगरी धानबाली भित्र्याएपछि मनाइन्छ।
  • दिसोम: यसको अर्थ देश, भूमि वा सम्पूर्ण समाज भन्ने हुन्छ।
  • ​तसर्थ, ‘दिसोम सोहराई’ भन्नाले सम्पूर्ण सन्थाल समाजले सामूहिक रूपमा मनाउने महान् पर्व बुझिन्छ।

​वडाध्यक्ष कार्कीका अनुसार यस वर्ष जनवरी ४ मा भद्रपुर–३ स्थित हात्तीमारामा ‘दिसोम सोहराई’ भव्य रूपमा मनाउने तयारी भइरहेको छ। साथै, निश्चित मितिमै चाड मनाउने र बिदा दिने व्यवस्थाका लागि स्थानीय पालिकाहरूलाई ज्ञापनपत्र समेत बुझाइने उनले जानकारी दिए।

​पूर्वी नेपालको झापामा मात्र करिब २५ हजारको हाराहारीमा सन्थाल समुदायको बसोबास रहेको छ। आफ्नो समुदायको वास्तविक इतिहास र संस्कृति पहिचान गर्न पाएकोमा स्थानीय सन्थाल अगुवाहरूले खुसी व्यक्त गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *