समिति लामो समयदेखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै सरकारलाई खबरदारी गर्न बुद्धशान्तिमा संघर्ष समिति गठन भएको छ।
सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जिवन तहसनहस भएको भन्दै संघर्ष समिति गठन गरिएको बताइएको छ।
बुद्धशान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेलको संयोजकत्वमा गठन भएको संघर्ष समितिको सह संयोजकमा मनोरथ तिवारी र धिरेन्द्र ढकाल रहेका छन् ।
लामो समय देखी जग्गाको बेचबिखन रोकिदाँ धेरै पक्षले दु:ख झेल्नु परेकाले सरकारलाई खबरदारी गर्न समिति बनाउनु परेको संयोजक भुजेलले बताए।
उनले भने, ‘ब्यवसाय सुनसान छ बैंकको कर्जा चुक्ता गर्न सक्ने अवस्था छैन ब्याजदर पनि उच्च छ अलिकता जग्गा बेचेर ऋण तिर्न चाहानेलाई संकट भयो, बजारको एउटा प्रक्रिया नै बिग्रेको छ त्यसैले हामिले यो समिती बनाएको हो’ , उनले भने। जग्गा बेचेर भएपनि उपचार गर्छु, बाँच्छु भन्नेलाई सकस भएको बताउछन् अर्का व्यवसायी लक्ष्मण ढुङ्गाना।
उनि भन्छन्, ‘ सरकारलाई चासो नै छैन, मान्छे बिरामी भयो थोरै जग्गा बेचेर औषध उपचार गरौं न त भन्दा बिक्री बन्द छ अब बाच्ने उपाय छ त ?’ समितिका सह-संयोजक मनोरथ तिवारीले मुलुकमा सरकार भएको आभाष नभएकाले संघर्षका कार्यक्रम गर्न बाध्य भएको उल्लेख गरे।
‘हामी भोलि मध्य दिउँसो राँको बालेर सरकारको खोजी गर्नेछौं , सरकार भएको भए जनताका यस्ता समस्यामा टुलुटुलु हेरेर पक्कै बस्ने थिएन’ उनले भने। समितिले सरकारको खोजि गर्न भोलि अपरान्ह राँको बालेर सरकारको खोजी गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ।