झापा, १२ फागुन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको स्पष्ट गर्नुभएको छ।
माओवादी केन्द्रले आज झापाको कचनकवलबाट सुरु गरेको ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्र अब जनतासँग प्रत्यक्ष रूपमा जोडिन चाहेको धारणा व्यक्त गर्नुभयो।
“हामी सरकार फेर्ने पक्षमा छैनौँ, न त त्यसका लागि कुनै कसरत नै गर्छौँ,” उहाँले भन्नुभयो, “हामीले अब जनतासँग सहकार्य गर्दै अगाडि बढ्ने अठोट लिएका छौँ।”
विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टी जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको स्वीकार्दै उहाँले अघिल्लो गल्तीहरूप्रति आत्मालोचना गर्दै समीक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले जातजाति तथा भाषाभाषीहरूसँगको सम्बन्ध प्रगाढ बनाउन र एकता सुदृढ गर्न जागरण अभियानको सुरुवात गरिएको बताउनुभयो।
आगामी आम चुनावमा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने स्पष्ट गर्दै अध्यक्ष दाहालले माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूला पार्टी बनेको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “जब हामीले उनीहरूसँग सहकार्य गर्यौँ, उनीहरू नै ठूला पार्टी बने। तर, जब हामी एक्लै चुनाव लड्यौँ, जनताले हामीलाई ठूलो पार्टी बनाए।”
अध्यक्ष दाहालले झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्याबारे चिन्ता व्यक्त गर्दै सरकारले ठोस समाधान ल्याउन नसकेको उल्लेख गर्नुभयो। साथै, उहाँले चिया किसान र श्रमिकहरूको समस्या समाधानका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
झापामा आफ्नै कार्यकालमा सुरु भएको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा पनि उहाँले चिन्ता प्रकट गर्नुभयो।
कचनकवलबाट सुरु भएको ‘जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान’ आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिनुभयो।