सर्पदंशका बिरामीः अस्पताल टाढा, मृत्यु नजिकै

बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्‍याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।

काठमाडौँ। बाँकेको खजुरा गाउँपालिकाकी १४ वर्षीया किशोरीलाई बिहान उठ्नेबित्तिकै अचानक पेट दुख्न थाल्यो। पेट दुखाइ धेरै भएपछि उनी नजिकैको मेडिकल गइन्। मेडिकल सञ्चालकले दुखाइ कम गर्ने औषधि दिए। औषधि खाएपछि घर फर्किइन्।

तर एकछिनमा दुखाइ शुरू भयो र झनै गाह्रो हुन थाल्यो। उनलाई अविभावकले त्यही मेडिकलमा लगे। दोस्रो पटक पुग्दा उनी पहिलाभन्दा शिथिल थिइन्। जीउ लल्याकलुलुक थियो। आँखाका परेला झर्न थालेजस्तो देखिन्थ्यो।

EPIC EPIC EPIC EPIC EPIC

त्यो देख्नेबित्तिकै मेडिकल व्यवसायीले बल्ल थाहा पाए— सर्पले डसेको रहेछ। संयोगले ती व्यवसायी पहिले भेरी अस्पतालमै एनेस्थेसियामा काम गरेका रहेछन्। त्यस बेलासम्म बिरामीको सासै बन्द हुन लागेको थियो। बिरामीलाई श्वासनलीमा पाइप राखेर कृत्रिम स्वास दिँदै भेरी अस्पताल पुर्‍याए।

उनलाई एन्टिस्नेक भेनम र अन्य औषधि दिइयो। ती किशोरीले चार दिनपछि बल्ल पाइपको सहायताबिनै सास फेर्न थालिन्। करिब पाँच दिन आईसीयूमा राखेर उपचार गरेपछि ठीक भइन्।

मेडिकल व्यवसायीले ती बालिकालाई सर्पले टोकेको पत्ता नलगाएको भए उनको ज्यान जोगिन मुश्किल भएको भेरी अस्पतालका डा. पारस पाण्डे बताउँछन्। उनी भन्छन्, “ती बालिका संयोगले मात्रै बाँचिन्। सर्पले डसेको थाहा पाएर कृत्रिम श्वास दिँदै नल्याएको भए उनको ज्यान जान्थ्यो।”

डा. पाण्डेले भनेजस्तै, सर्पले डसेका बिरामीलाई समयमै अस्पताल नपुर्‍याउँदा धेरैको ज्यान जाने गरेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारकी ४६ वर्षीया शान्ति डुम्रेलाई असार ११ गते राति ९ बजे  सर्पले टोक्दा मृत्यु नै भयो।

राति ९ बजे भाँडा माझ्ने क्रममा उनको दाहिने खुट्टामा सर्पले डसेको थियो। उनलाई कालीगण्डकी अस्पताल कावासोती पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भयो। कुन सर्पले डसेको हो भन्ने पनि पत्ता लागेन।

अझ बालबालिकाले त सर्पले टोकेकै थाहा पाउँदैनन्। त्यही कारण बालबालिकालाई अस्पताल पुर्‍याउनै नपाइ मृत्यु हुने गरेको डा. पाण्डे बताउँछन्।

“विषालु सर्पले डसेका बच्चाको स्वास्थ्यमा समस्या ठूलाको भन्दा अलि पछि आउँछ। जब समस्या शुरू हुन्छ, १५ देखि २० मिनेटमा सास बन्द भइहाल्छ,” उनी भन्छन्, “राजा एयरपोर्ट र भेरी अस्पतालबीचको दूरी बाइकमा १० मिनेट हो। यति छोटो दूरीमा पनि समयमै अस्पताल पुर्‍याउन नसक्दा केही समयअघि दुई बच्चाको ज्यान गएको छ।”

नेपाल प्रहरीको तथ्यांक अनुसार बर्सेनि बाघ, हात्ती, भालु, गैँडालगायतका जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पको डसाइबाट हुन्छ। पछिल्लो पाँच वर्षमा सर्पको डसाइबाट १५१ जनाको मृत्यु भएको छ र ७१२ जना घाइते भएका छन्।

तर नेपालमा सर्पदंशबाट मृत्यु हुनेको संख्या यति मात्रै होइन। यो तथ्यांक प्रहरीलाई रिपोर्ट भएको मात्रै हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा सञ्जीव शर्माको अध्ययनअनुसार सर्पदंशका बिरामीमध्ये अस्पताल पुग्नुभन्दा पहिलै मृत्यु हुनेको संख्या ८० प्रतिशत छ। तर यकिन तथ्यांक सरकारसँग नभएको उनको दाबी छ।

“धेरेजसो सर्पदंश केन्द्रहरू रेडक्रस, आर्मीहरूले चलाएका हुन्छन्। तिनीहरूको तथ्यांक रेजिस्टरमा राखिन्छ। डिजिटल पद्धति धेरै ठाउँमा छैन। त्यही तथ्यांक केन्द्रमा पठाउने हो,” प्राडा शर्मा भन्छन्, “त्यसो गर्दा तथ्यांक हराउने सम्भावना हुन्छ। त्यही भएर अस्पताल पुगेका सर्पदंशका बिरामीको पनि एकदमै कम तथ्यांक पाउछौँ।”

सन् २०२२ मा द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित रिपोर्टअनुसार नेपालमा प्रत्येक वर्ष ३६ हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको छ। तीमध्ये करिब तीन हजारभन्दा बढीको मृत्यु हुन्छ। यसमा तराई क्षेत्रको मात्रै अध्ययन भएकाले पहाडमा समेत गर्दा सर्पदंशबाट मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको डा. शर्मा बताउँछन्।

उक्त रिपोर्टअनुसार सर्पदंशबाट प्रभावित हुने धेरै महिला र बालबालिका छन्। धेरैजसो सर्पदंश मनसुनको समयमा, खेतबारीमा काम गर्दा वा अँध्यारो बाटोमा नांगो खुट्टा हिँड्दा हुन्छ। घर वरपर अन्न, पराल राखिने र घाँसदाउरामा महिलाहरू बढी सहभागी हुने भएकाले प्रायः महिला पीडित हुने गरेका हुन्।

१५ वर्षभन्दा कम उमेरका सर्पदंशका बिरामीमध्ये आधाभन्दा धेरैलाई घरभित्र वा आँगनमै सर्पले टोक्ने अध्ययनले देखाएको छ। अधिकांशको खुट्टामा र तीमध्ये पनि धेरैजसोको घुँडाभन्दा तल सर्पले डस्ने गरेको छ।

दक्ष जनशक्ति नहुँदा जोखिम
नेपालमा सर्पदंशसम्बन्धी उपचार गराउने केन्द्र ११० वटा छन्। जसमध्ये, नेपाली सेना, स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको संयुक्त सहकार्यमा १६ जिल्लाका १९ स्थानमा यस्ता केन्द्र संचालित छन्। सरकारी अस्पताल, रेडक्रसलगायत संस्थाले सञ्चालन गरेका सहित ३७ जिल्लामा उपचार केन्द्र छन्।

धेरैजसो सर्पदंश उपचार केन्द्र शहरी क्षेत्रमा हुन्छन्। त्यसैले सर्पले डसेमा सामान्य अस्पताल लगिँदा रेफर गरिन्छ। विषालु सर्पले डसेका बिरामी रेफर गरिँदा धेरैले बाटोमै ज्यान गुमाउँछन्।

सर्पदंशसम्बन्धी उपचार गर्ने अस्पतालमा पनि तालिम प्राप्त डाक्टर नहुँदा उपचार गर्न हिच्किचाउने र अर्को अस्पतालमा रेफर हुने गरेको सर्पदंशमा काम गरेका डा. कृष्ण आचार्यको अनुभव छ। एमबीबीएस डाक्टरले सैद्धान्तिक रूपमा सर्पदंशको उपचारसम्बन्धी अध्ययन गरे पनि व्यवहारिक अध्ययन हुँदैन। त्यसैले उपचार गर्न नमान्ने गरेको उनको भनाइ छ।

“नेपालमा एमबीबीएस पढाइ हुने करिब २० वटा जति कलेज छन्। त्यसमध्ये धरानमा पढ्ने विद्यार्थीले मात्रै सर्पदंशको उपचारमा व्यवहारिक ज्ञान पाउँछन्। अन्यत्र पढ्नेले सर्पदंशका बिरामी देखेकै हुँदैनन्,” डा. आचार्य भन्छन्।

एमबीबीएस पढाइ हुने धेरै मेडिकल कलेज काठमाडौँ केन्द्रित छन्। तराईमा भएका पनि धेरैमा सर्पदंशको उपचार हुँदैन। त्यसैले नयाँ डाक्टरले सर्पदंशका बिरामी देखेकै हुँदैनन्।

एमबीबीएस पढाइ हुने मेडिकल कलेजहरूमा सर्पदंशका बिरामीको अनिवार्य उपचारको नीतिगत व्यवस्था गर्नुपर्ने डा आचार्य बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकहरूलाई सर्पदंशसम्बन्धी विभिन्न तालिम दिइरहेको हुन्छ। ती तालिम पनि पर्याप्त नभएको हुँदा अझै बढाउनुपर्ने उनको भनाइ छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा शर्माको अनुभवमा भने सर्पदंशका बिरामी मर्ने सम्भावना हुने बुझाइले डाक्टरहरू उपचार गर्नबाट पन्छिने गर्छन्। जिन्दगीभरको अध्ययनमा सर्पले डसेका बिरामी नदेखेका डाक्टरले एकैपटक उपचार गर्न पनि गाह्रो हुन्छ।

उनी भन्छन्, “सर्पदंशमा सैद्धान्तिक ज्ञान हामीसँग राम्रो हुँदैन। हामी विदेशीले लेखेका किताब पढ्छौँ, तर त्यहाँको सर्पका प्रजाति र उपचार पद्धति भिन्न छ। औषधि नै फरक हुन्छ। यस्ता धेरै कुरा व्यवहारिक रूपमा थाहा नपाउँदा डाक्टर रिस्क लिन चाँहदैनन्।”

उपचारपछि पनि देखिनसक्छ असर
नेपालमा पाइने सबै प्रजातिका सर्पहरूको एन्टिभेनम पाइँदैन। मुख्यगरी करेत र गोमनले टोक्दा प्रयोग गरिने एन्टिभेनम मात्रै पाइने प्राडा शर्मा बताउँछन्। नेपालमा करेतका ६ र गोमनका दुई प्रजाति छन्। उनी भन्छन्, “यी विष हाल्ने सर्प हुन्। कमन कोब्रा र कमन करेतले डसेमा त्यसविरुद्धको औषधि पाइन्छ, अरूको छैन।”

सर्पको कुन प्रजातिले डसेको रहेछ भन्ने पत्ता लगाउन पनि कठिन हुने गरेको छ। सर्पले टोकेको समयको आधारमा अनुमान गर्ने र कतिपयले फोटो देखाएका आधारमा पनि उपचार हुने गरेको छ।

प्राडा शर्मा भन्छन्, “हामी सामान्यतः रगत बग्ने अवस्थालाई हेर्छौैं र पत्ता लगाउछौँ। करेतले टोकेको रहेछ भने रेफर गरेर जहाँ आर्टिफिसियल भेन्टिलेसन छ, त्यहीँ पठाउछौँ। यसबाहेकका सर्पले टोकेको भए सामान्य सर्पदंश केन्द्रमा उपचार हुन्छ।”

विषालु सर्पले डसेको एउटा व्यक्तिमा करिब १० देखि १५ भायल एन्टिभेनमको प्रयोग हुन्छ। सरकारले सर्पदंशमा प्रयोग गरिने एन्टिभेनम निःशुल्क दिन्छ।

सर्पदंशको उपचारपछि पनि बिरामीमा विभिन्न असरहरू हुने गरेको प्राडा शर्माको अध्ययनले देखाएको छ। उपचारपछि पनि विभिन्न अंगले काम नगर्ने, मानसिक समस्या हुने, डर लाग्नेलगायत समस्या देखिनसक्छ।

यस्तो असर सर्पले टोकेकामध्ये एक चौथाइमा देखिने प्राडा शर्मा बताउँछन्। कतिपयलाई एन्जायटी र डिप्रेसन हुन्छ। केहीको त अंग नै फ्याँक्नुपर्ने पनि हुन्छ।

त्यस्तो समस्या हुँदा कतिपय बिरामीका परिवारले डाक्टरलाई नै दोष लगाउने गरेका छन्। सोही कारण चिकित्सकले बिरामीको परिवारको सहमति लिएर मात्र औषधि चलाउने गरेको भेरी अस्पतालका डा. पाण्डे बताउँछन्। उनी भन्छन्, “यो औषधि प्रयोग गर्दैछौँ। यसको पनि असर पर्नसक्छ। तर त्यसको उपचार हुन्छ भनेर कन्सेन्ट लिन थालेका छौँ। नत्र उपचार गराउनै गाह्रो हुन्छ। परिवारले हामीलाई नै दोष दिन्छन्।”

‘सर्पसँगै बाँच्न सिक्नुपर्छ’
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार सर्पहरू प्रायः तापक्रमअनुसार जमिनबाहिर निस्किन्छन्। १८ डिग्री र त्योभन्दा माथि तापक्रम छ भने बाहिर देखिन्छन्। मनसुनमा भने जमिनको सतहमा आउँछन्।

नेपालमा ८० देखि ९० प्रजातिका सर्प भएको अनुमान गरिएको छ। तर २० प्रजातिका सर्प मात्र विषालु छन्। तीमध्ये पनि टोक्दा मानवलाई हानि पुग्नसक्ने आठ प्रजाति मात्र भएको उनको भनाइ छ। 

सर्पलाई डर लाग्यो भने मात्रै मान्छेलाई डस्ने मण्डल बताउँछन्। उनी भन्छन्, “हामीलाई सर्प हाम्रो दुश्मन भन्ने सिकाइएको छ। यसले टोकेपछि हामी मर्छौं भन्ने सोचले सर्पलाई मार्न खोज्छौँ। मार्न खोज्ने क्रममा दुर्घटना भएको पनि देखिएको छ।”

सर्पको डसाइबाट बच्न यससँगको जम्काभेटबाट बच्नुपर्ने मण्डल बताउँछन्। उनका अनुसार, घर वरिपरि सर्प हुन नदिन मुसा बस्न नदिने, भ्यागुत्तो हटाउन पानी जम्ने ठाउँ नराख्ने गर्नुपर्छ। सर्पको खाना घरभित्र नभए घरवरपर आउँदैनन्। 

उनी भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण सर्पसँगै बाँच्न सिक्नुपर्छ। हामीलाई जुन क्लाइमेट उपयुक्त हुन्छ, त्यही क्लाइमेट सर्पलाई पनि ठिक हुन्छ। खासमा सर्प हाम्रो अस्तित्व जोगाउने सहयोगी प्राणी हो। त्यसैले यसलाई पनि बचाउनुपर्छ।”

नेपालमा पाइनेमध्ये ९३ प्रतिशत सर्प विषालु नहुने र बाँकी ७ प्रतिशतबाट जोगिनुपर्ने उनी बताउँछन्। विषालु सर्पमध्ये पनि तराईमा गोमन र करेत तथा पहाडमा भाइपरबाहेक अरू कम मात्र देखिने उनको भनाइ छ।

घर वरपर सर्प देखिइहाले भाग्ने ठाउँ दिएमा भाग्छ। भाग्ने ठाउँ छैन भने बनाइदिनुपर्छ। “तालिम नभएका मान्छेले सर्प समाउने गर्नु हुँदैन। यो एकदमै रिस्क हो,” उनी भन्छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा शर्माका अनुसार सर्पको डसाइबाट जोगिन राति झुल टाँगेर सुत्ने, सकेसम्म भुईंमा नसुत्ने, राति हिँड्दा टर्च बाल्ने, दुलातिर हात नहाल्ने गर्नुपर्छ। सर्पले डसेमा जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ।

उनी भन्छन्, “विश्व स्वास्थ्य संगठनको रिकोमेन्डेसनअनुसार सर्पले डसेपछि एक घण्टामा अस्पताल पुर्‍याउनुपर्छ। तर जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु राम्रो। त्यसका लागि मोटरसाइकल उपयुक्त साधन हुनसक्छ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *