काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार आम्दानी गरेको हो । साउनमा दैनिक रूपमा १३ करोड ११ लाखको विद्युत् निर्यात भएको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउनमा विद्युत् बिक्रीबाट दुर्ई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक आठ/नौ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्था अन्त्य भई हाल वर्षायामका महिनामा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जानेआउने गरे तापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्य अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिनेछ ।’
उहाँले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीचको व्यापारघाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गर्नुभयो ।
घिसिङले भन्नुभयो, ‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नुपरे तापनि आयात परिमाण क्रमशः घट्दै जानेछ, गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौँ ।’
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि-एनभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । जसमध्ये एनभिएनमार्फत् हरियाणा राज्यलाई थप दुर्ई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिनेछ । हाल दुर्ई आयोजनाबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम पिटिसी भारतमार्फत् बिहार राज्यमा निर्यात हुनेछ । बिहारलाई पहिलोपटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिनेछ ।
हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रूपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/08/261330/