झापा । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आयोजक झापा गोल्डकपले आज २४ माघदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहनेछ ।
२५ माघमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । तालिकाअनुसार २६ माघमा हुने पहिलो क्वार्टरफाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ भने २७ माघमा हुने दोस्रो क्वार्टरफाइनलमा दोस्रो खेलको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।
यसैगरी, २८ माघमा हुने तेस्रो क्वार्टरफाइनलमा एपीएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज तथा २९ माघमा हुने अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लब भिड्ने छन् ।
प्रतियोगिताको सेमिफाइनल १ र २ फागुन तथा फाइनल ४ फागुनमा हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले २५ हजार रुपैयाँ हात पार्नेछन् ।



















