काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेकाे नेपालले मैत्रीपूर्ण खेलमा बलियाे सिंगापुरलाई हराएकाे छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा बरियतामा १५औं स्थान बलियाे सिंगापुरलाई १–० गाेल अन्तरले हराएकाे हाे ।
सिंगापुरको नेसनल स्टेडियममा भएकाे खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा जित हात पारेकाे हाे । उनले खेलकाे १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। मनिष डाँगीले दाया विंगबाट दिएको लो पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए ।
जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले अन्य अवसर पाएपनि सदुपयोग गर्न सकेन । यता सिंगापुरले खेलको अन्तिम समयमा प्राप्त सुवर्ण अवसरमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायम राखेका थिए । अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल र पहिलाे जित सावित भएकाे छ। नेपालले सिंगापुरलाई अहिलेसम्म हराउन सकेको छैन। यसअघि नेपाल र सिंगापुरबीच ४ पटक प्रतिस्पर्धा भएको छ।
जहाँ सिंगापुरले ३ खेल जित्दा १ खेल गोलरहित बराबरीमा सकिएको थियो। पछिल्लो पटक नेपालले सन् १९८९ मा फिफा विश्वकप छनोटमा खेलेको थियो। नेपाल र सिंगापुरले ३६ वर्षपछि खेल्न लागेको हो। नेपाल र सिंगापुरको फुटबल प्रतिस्पर्धाको इतिहास ३ दशकभन्दा लामो छ। नेपालले पहिलो पटक १९८२ को किंग्स कपमा सिंगापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २-० ले पराजित भयो। ४ वर्षपछि १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिंगापुलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यसपछि १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच दुई खेल भएको थियो। पहिलो खेलमा नेपाल ७-० र दोस्रो खेलमा ३-० ले पराजित भएको थियो।
नेपालले गत नोभेम्बरमा अफगानिस्तानलाई हराएपछि करिब ४ महिनापछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ। मैत्रीपूर्ण खेलपछि नेपाली टोली छनोट खेल्न मलेसिया जानेछ। नेपाल र मलेसियाबिच चैत १२ गते प्रतिस्पर्धा हुनेछ। यो खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्ने तालिका थियो। तर दशरथ रंगशालाले तत्काल अन्तर्राष्ट्रिय खेल खेलाउन अनुमति नपाएपछि नेपालले आफ्नो होम म्याच मलेसियामा हुन लागेको हो। एसियन कप छनोट अन्तर्गत नेपाल समूह ‘एफ’मा रहेको छ। जहाँ नेपालले मलेसिया, भियतनाम र लाओससँग प्रतिस्पर्धा गर्नेछ। फिफा बरियतामा नेपाल भन्दा सिंगापुर १५ स्थान बलियाे स्थानमा छ । नेपाल १७५ स्थानमा छ भने सिंगापुर १६० स्थानमा छ ।