विराटनगर । स्ववियु निर्वाचनको विषयलाई लिएर विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चार जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार पनि छन् ।
प्रहरीले मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पुजा विश्वासलाई पक्राउ गरेको हो ।योगराज दाहाल महेन्द्र मोरङ स्ववियु सभापतिमा डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।
स्ववियु निर्वाचन कार्यालयमा बुधबार दिउँसो असन्तुष्ट समूहले तोडफोड गर्दै आगजनी गरेको थियो । आगजनीपछि निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।
तोडफोड र आगजनीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । यस अघि सो क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समुह विच झडप समेत भएको थियो ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा निर्वाचन समितिले विष्टलाई आधिकारिकता दिएको थियो ।
कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा राखेपछि सो समुहले तोडफोड र आगजनी गरेको थियो ।