राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पारेको आरोप लगाइन्।
उनले भनिन्, “स्वास्थ्य बीमाको सीमालाई ५ लाख पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्ने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार अभिव्यक्ति आएकोमा दुःख लागेको छ।”
सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई सबैका लागि अनिवार्य गर्नुपर्नेमा जोड दिँदै, यसको सुरुआत मन्त्री र मन्त्रीको सचिवालयबाट गर्न सुझाव दिइन्। उनले भनिन्, “देशभरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने वर्षमा २० अर्ब रकम उठ्छ।”
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्ने प्रयास गरिएको आरोप लगाउँदै, यसलाई अघि बढाउन नसक्ने हो भने मन्त्री पौडेलले मार्ग प्रशस्त गर्नुपर्ने बताइन्।



















