Search
Close this search box.
Search
Close this search box.

हनुमानढोका स्थित दशैं घरमा राखियो जमरा

काठमाडौं ।  दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबार स्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ बजेर १६ मिनेटको साइतमा हनुमानढोका दरबार क्षेत्रको दशैं घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले  जानकारी दिए । 

EPIC EPIC

हनुमानढोका दरबारमा रहेको दशैं घरमा राज्यका तर्फ बाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ । हनुमानढोकाको दशैं घरमा बिहीबार देखि बलि सहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याए पछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिए । 

वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दशैं घरमा दुर्गा पक्षको पहिलो दिन बिहीबार नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । 

नव दुर्गा सहित दशैं घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ । यसैगरी राजधानी लगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलि सहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापना देखि महानवमीका दिन सम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । नौ दिन सम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हात बाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीको जमरा लगाउने गरिन्छ ।

मान्यजन बाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन सम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसे पछि १५ दिन लामो बडा दशैं पर्व समाप्त हुन्छ । यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन सम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी छ दिन देवीको प्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।
रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *